Logo

‘कांग्रेसको बारेमा अनावश्यक हल्ला गरियो’



नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान शनिवार सकिएको छ । पहिलो चरणको अभियान सकिँदा लक्षित उपलब्धी हासिल गर्न नसकेको टिप्पणी भइरहेको छ । पार्टी संचालनमा नेतृत्वको शैलीको विरोध पनि भइरहेको छ । अर्कोतिर सरकारका गलत कामको खबरदारी पनि प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसको आलोचन भइरहेको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेका छन् । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

गुट उपगुटले किन नेपाली कांग्रेस ग्रस्त भयो ?
गुट नभएको पार्टी कहाँ छ र ? पार्टीभित्र अलिअलि विवाद र द्धन्द्ध हुनु स्वभाविक नै हो । तर कांग्रेसको बारेमा अनावश्यक हल्ला गरिएको छ । जीवन्त पार्टीमा समुह–समुहबीच प्रतिस्पर्धा पनि हुन्छ । अलिअलि जालझेल पनि भइरहेको होला । स्वार्थका खेलहरु भइरहेका हुन्छन् ।

तर पार्टीलाई नै कमजोर बनाउने गुटगत राजनीति त राम्रो हुँदैन नि ?
सबै नेताहरु मिल्नुस् त सबैले भन्छन् । मिल्ने कुरा राम्रो हो । तर मिल्नका लागि आधार चाहियो । पार्टीभित्र न्याय र पारदर्शिता कायम राख्नुपर्छ भन्ने मेरो मान्यता हो । यो मान्यता सबैलाई चित्त बुझेको छ । पार्टीका सबै काम सही समयमा सही तरिकाले गर्नुपर्छ भन्ने सबैको चाहना हो । कार्यकर्ताको चाहनालाई मैले आत्मसात गरेको छु, अरुले पनि गुर्नुपर्यो ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानले कार्यकर्तामा उत्साह दिन सकेन नि ?
तर पनि समग्र रुपमा राष्ट्रिय जागरण अभियान सफल भएको छ । नेताहरु देशभरी खटिए । कार्यक्रमहरु राम्रा भएका छन् । देशभरी छलफल, प्रशिक्षण र बहस सम्पन्न भएको छ । यसले देशभरी कांग्रेसको चहलपहल छाएको छ । चुनाव हारेको पार्टी भएकाले कार्यकर्तामा केही निराशा हुन सक्छ । यद्यपी अहिले कार्यकर्ता सक्रिय भएर लागेका छन् । पछिल्लो समय म करिब २० जिल्ला पुगेँ । म गएको ठाउँमा ठूलो संख्यामा कार्यकर्ता र जनताको उपस्थिती पाएँ । यसले पार्टीभित्र लहर छाएको स्पष्ट हुन्छ । कार्यकर्ता पनि उत्साहित देखिएका छन् ।

नेताहरुमा अझै पनि चेत खुलेन भन्ने गुनासो त आइरहेको छ नि ?
कार्यकर्ताले तपाईसँग मात्रै होइन, मसँग पनि कुरा गरेका छन् । धेरै कार्यकर्तासँग साक्षात्कार गरेँ । साथीहरुलाई पार्टीको चिन्ता छ । पार्टी बलियो हुनुपर्यो, प्रतिपक्षको भूमिका प्रभावकारी हुनुपर्छ भन्ने चाहना छ । जनताले चाहे जस्तो पार्टी बन्नुपर्छ भन्ने सबैको धारणा छ । मैले पनि कार्यकर्तालाई जनतामाझ जान अनुरोध गरेँ । जनताको स्वार्थसँग मिल्ने र सुख–दुःखको साथी बन्ने अभियानमा कार्यकर्तालाई लाग्न सुझाब दिएको छु ।

शेरबहादुर देउवाकै नेतृत्वले कांग्रस हाँक्न सक्छ त ?
यो कुरा उतै नेतृत्वतिरै सोध्नुस् । डाडु पनिउ हातमा हुनेलाई नै सोध्नुस् ।

अबको महाधिवेशन समयमा नै हुन सक्छ त ?
हुनुपर्छ । सबै कार्यकर्ताको चाहना पनि त्यही छ । गाउँगाउँका निकाय समायोजना र पुनर्गठन गर्नुपर्नेमा सबै कार्यकर्ताले जोड दिएका छन् । प्रदेश समितिहरु हुनुपर्यो भन्ने सबैको माग छ । संघीयताको स्वरुपमा पार्टीलाई लैजानका लागि समयमै महाधिवेशन हुनुपर्छ ।

सभापति शेरबहादुर देउवाले त समयमा महाधिवेशन हुँदैन भन्नुभएको छ नि ?
मैले उहाँलाई आरोप लगाउने कुरा होइन । तर उहाँको कुरामा मेरो सहमति छैन । समयमा महाधिवेशन गराउनुभएन भने कार्यकर्तालाई उहाँले नै जवाफ दिनुहुन्छ । समयमा महाधिवेशन नहुने हो भने त पार्टी बेहाल भइहाल्छ नि । केपी ओली नेतृत्वको सरकार चाँडै नै असफल हुँदैछ । अब विकल्पको रुपमा कांगेसले आफूलाई तयार गर्नुपर्छ । यसका लागि पार्टीको सबै काम र प्रक्रिया समयमा नै हुनु जरुरी छ । अब कांग्रेस तयार भएर बस्नुपर्छ । समयमा नै महाधिवेशन भएन भने आगामी निर्वाचन प्रभावित हुन्छ । पार्टीको महाधिवेशन र आम चुनाव एकैचोटी भयो भने कांग्रेसको विजोग हुन्छ ।

तर अपेक्षा गरिएजस्तो कार्यकर्ताको उपस्थिती त देखिएन नि ? सरकारले गरेका नराम्रा कामको विरोध गरेको पनि पाइएन ।
कार्यकर्ता पर्याप्त थिए । सरकारका गलत कामको विरोध पनि भयो । सरकारले आफ्नो हात जगन्नाथ गर्यो, पक्षपातको शाषन गर्यो भन्ने विषयमा आवाज उठेका छन् । बजेट आफ्नै कार्यकर्तालाई बाँड्न खोज्यो भन्ने जस्ता विषयमा देशभरीबाट खबरदारी भएको छ । कार्यकर्ताको नियत नै ठीक छैन भन्ने कुरा सबैले बुझेका छन् ।

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरु सडक आन्दोलनमा छन् । कांग्रेसले कसरी लिएको छ ?
कांग्रेसले सबै खाले स्वतन्त्रताका विषयमा बोलिरहेको छ । सडक र सदन दुवै ठाउँमा कांग्रेस चुप लागेर बसेको छैन । यही रवैया जारी रहे कांग्रेस आन्दोलनमा उत्रिन बाध्य हुन्छ ।

हिन्दुराष्ट्र कायम गर्नका लागि कांग्रेस तयार भएको हो ?
अब नेपाली कांग्रेस कुनकुन नेताहरुले हिन्दुराष्ट्र खोजेका छन् त्यो मलाई थाहा छैन । कांग्रेस कमल थापा र पशुपति शमशेरको बाटोमा जाँदैन । न त विप्लवको बाटोमा नै जान्छ । कांग्रेस आफ्नै बाटोमा हिँड्छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिलाई कसरी लिनुभएको छ ?
हामी हिंसालाई अभिनन्दन गर्दैनौँ । हिंसाको बाटो छोड्नुपर्छ । हिंसा भनेको त गणतन्त्र, लोकतन्त्र र संघीयताको विरुद्ध हो । के गर्न खोजेको हिंसा गर्नेले ? विना हातहतियार शान्तिपूर्ण राजनीति गर्न जसले पनि पाउँछ, तर बम पड्काउने र हिंसा फैलाउने काम कसैले पनि गर्न पाउँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot