Logo

पहुँच र प्रभावका भरमा राजदूत



दावाफुटी शेर्पा स्पेनको राजदूत सिफारिश हुनुमा मुख्य मापदण्ड उनी व्यापारिक घरानाकी सदस्य हुनु हो । ५० अर्बको व्यवसायको साम्राज्य चलाइरहेका शेर्पा परिवारकी सदस्य दावाफुटी ३४ वर्ष मात्र भइन् । अमेरिका पढेर फर्किएकी मात्र थिइन् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राजदूत सिफारिशको निर्णय गरिदिए ।

उनका काका आङछिरिङ शेर्पा ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । आमा पासाङ ल्हामु शेर्पा प्रथम नेपाली महिला सगरमाथा आरोही हुन् । दावाफुटीसँग कुनै कुटनीतिक अनुभव छैन । उनले राजनीतिक भागवण्डामा राजदूतक हुने अवसर पाइन् ।

अष्ट्रेलियाका लागि राजदूत बनाइएका महेशप्रसाद दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष हुन् । नेपाली काँग्रेस सरकारको पालामा टेलिभिजनका अध्यक्ष बनेका दाहाल नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरी राजदूत बन्न सफल भए । सधै शक्तिको वरिपरि रहन चाहने उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका हुन् ।

बंगलादेशका लागि राजदूत सिफारिश डा. वंशिधर मिश्र पूर्वमन्त्री हुन् । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका विश्वासपात्र मिश्रको सम्बन्ध मनमोहन अस्पतालसँग पनि छ । उनीसँग पनि कुटनीतिक अनुभव छैन । कतारका लागि राजदूत सिफारिश नारद भारद्वाज ओलीको कोटामा परेका हुन् ।

परराष्ट्रका कर्मचारीको बेवास्ता

राजदूत सिफारिशमा राजनीतिक पहुँच र प्रभावलाई महत्व पाउने क्रममा ओली सरकारका पालामा निरन्तरता पायो । पछिल्लो राजदूत नियुक्तिले कर्मचारीको सिधा बेवास्ता देखिएको छ ।

अमेरिका, भारत र चीनको राजदूत नियुक्तिमा पनि परराष्ट्रका कर्मचारीलाई बेवास्ता गरिने क्रम जारी छ । राजनीतिक भागवण्डामा ती देशको राजदूत नियुक्ति हुँदै आएको छ ।

भारतमा पाका पूर्वमन्त्री निलाम्बर आचार्य, अमेरिकामा कुनैबेला एनजीओका बादशाह डा. अर्जुन कार्की र चीनमा पूर्व मुख्य सचिव लिलामणि पौड्याल राजदूत छन् । बेलायतमा परराष्ट्रका सहसचिव डा. दुर्गा बहादुर सुवेदी राजदूत छन् ।

विवादमा परराष्ट्र बाहिरका

कुटनीतिक क्षेत्रमा राम्रो जानकार नहुँदा परराष्ट्र बाहिरका कर्मचारी राजदूत हुँदा विवादमा पर्ने गरेका छन् । अष्ट्रेलियामा राजदूत हुँदा लक्की शेर्पा विवादमा परिन् । उनले राजीनामा दिनुप¥यो ।

ओमानका लागि राजदूत बनेकी सर्मिला पराजुली ढकाल पनि विवादमा आइन् । उनीमाथि पैसाको बलमा राजदूत बनेको आरोप लाग्यो ।
यसबाहेक विगतमा खाडी मुलुकमा राजदूत भएकाहरु आर्थिक हिनामिनामा मुछिए । उनीहरुले आर्थिक चलखेल गर्दा बाह्य मुलुकमा देशको बदनामी हुने अवस्था बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्