Logo

देउवालाई रामचन्द्रको फागुनसम्मको अल्टिमेटम



काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी कसेको छ । कांग्रेसमा मोर्चाबन्दी हुनु नौलो होईन, तर यसपटक नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने माग राखेर देउवाविरुद्ध मोर्चाबन्दी कसेका छन् । स्रोतले दिएको जानकारीअनुसार फागुनभित्र महाधिवेशन नगरे देउवाको पद संकटमा पार्ने पौडेलेको तयारी छ ।

पौडेलले आफूनिकट नेताहरुसँग अहिले भन्न थालेका छन्,‘देउवा अब उम्किन पाउँदैनन् । समयमै महाधिवेशन गरुन । मैले यो कुरा भेटेरै पनि बेला–बेलामा उहाँको ध्यानाकार्षण गराएको छु । तर, उहाँ यसप्रति साँच्चिकै गम्भिर हुनुहुन्न भन्ने लागिराखेको छ।’

आजपनि पौडेल आफूनिकटका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । स्रोतको दाबी छ,‘फागुनभित्रै महाधिवेशन गर्नेगरि पौडेल समूह छलफलमा जुटिसकेको छ, अब सभापति देउवाविरुछ वारपारको लडाई सुरु भयो ।’

पौडेलले पार्टीलाई अब जागरण अभियानमात्रै भनेर अल्झाउन नहुने धारणा राख्दै आएका छन् । देशव्यापी रुपमा नेतृत्वको आलोचना भएको निश्कर्ष निकाल्दै पौडेल समूह देउवालाई दबाब दिएर फागुनभित्रै महाधिवेशन गराएर नेतृत्वबाट विस्थापित गराउने तयारीमा जुटेको छ।

पौडेललाई नेतृत्वविरुद्धको संघर्षमा प्रभावशाली नेता एवम् पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, नेता अर्जुननरसिंह केसीलगायत नेताले पनि साथ र सहयोग गर्ने बुझिएको छ । यद्धपी उनीहरु अहिले कुनै पक्ष वा विपक्ष भनेर उभिईसकेको स्थिति छैन । सिटौला र केसीले पनि सभापति देउवाको कार्यशैलीलाई लिएर तिव्र आलोचना भने गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्