Logo

युरोप घुम्दै रसुवा नाका प्रभावित पार्दै



रसुवागढी नाकामा सिन्डिकेटको विरोधमा व्यवसायी सडकमा उत्रँदा चीनसँगको आयात निर्यात प्रभावित भइरहेछ । सिन्डिकेटका कारण ट्रक कन्टेनरहरु सुचारु संचालनमा आउन सकेको छैन । तर, सिन्डिकेट लगाउन मुख्य भूमिका खेल्ने जनप्रतिनिधि भने व्यसायी लडाएर युरोपमा म्याराथुन घुमाईको मस्ती मारिरहेका ।

२० जेष्ठमा युरोप उडेका रसुवाको गोसाइकुण्ड गाउँपालिकाका प्रमुख कैयाङ तामाङ पत्नी सोनाम लामाको साथमा स्वीटजरल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियमलगायतका देशहरु घुमिसकेका छन् । महङ्गो सपिङ गरेका छन् । घुमेर दुर्गम जिल्ला रसुवाको पिछडिएको गाउँपालिकाका विलासी पालिका प्रम्ख जतिसक्दो धेरै देश र ठाउँ घुमेर कीर्तिमान नै राखौंला जस्तो गरिरहेका छन् ।

युरोपको तारे होटलहरुमा बसेर जतिसक्दो धेरै देश घुम्ने रहर मेटिरहेका छन् । ३ असारमा फर्कने उनी युरोपबाटै सिन्डिकेट संचालन गर्दै नाकामा आफ्नो नीति लादिरहेका छन् ।

को हुन् कैयाङ

रसुवा नाकामा पर्ने गोसाइकुण्ड गाउँपालिका प्रमुख बनेका कैयाङ तामाङ प्रभावशाली हुनुको कारण चीनसँगको आयात निर्यातको मुख्य नाका रहनु हो । ट्रक तथा कन्टेनर व्यवसायीलाई आफ्नो प्रभाव छातामा ल्याउन व्यस्थापनका नाममा उनैले सिन्डिकेटको योजना बनाए ।
जिल्ला प्रशासन कार्यालय रसुवामा सर्वदलीय सर्वपक्षी बैठक बसाएर आफै समिति गठन गर्न लगाएर संयोजक बने । ट्रक कन्टेनरमा सिन्डिकेट लगाउन सफल भएपछि उनी युरोप यात्रामा हिंडे । डायल नम्बर राखेर पालैपालो मात्र चल्न पाउने नियमबाट उनको समूहको पकडमा ल्याउने योजना थियो ।

प्रशासनको साथ

कैयाङको योजनामा जिल्ला प्रशासन कार्यालय रसुवा र जिल्ला प्रहरी कार्यालय रसुवा दुवै सहयोगी बने । व्यवस्थापनका नाममा सिन्डिकेट लगाउन साथ दिएपछि ट्रक कन्टेर व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

सिन्डिकेट लगाउन समिति बनाएर तयार गरेको कार्यविधि र डायल नम्बर राखेर ट्रक संचालन गर्न लगाउँदा व्यवसायी डुब्ने खतरामा परे । चाँडो पालो दिलाउन पैसाको चलखेल हुनथाल्यो । यसकारण ढुवानी भाडा बढ्न गयो । यसमा प्रशासनको साथ मिलेपछि कैयाङ झन् उत्साही भएका छन् । उनले युरोपबाट सिन्डिकेटको बचाऊको निर्देशनहरु दिदै आएका छन् ।

कैयाङलाई साथ दिनेहरु

सिन्डिकेट लगाउने समितिका संयोजक कैयाङ तामाङको नेतृत्वमा नेपाल कम्युनष्टि पार्टीका रसुवा अध्यक्ष कर्णेल लामासहित तीन, नेपाली काँग्रेसका रसुवा जिल्ला सभापति पेम्बा छिरिङ तामाङसहित तीन, रसुवा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जीब अमात्यसहित तीन र सीमापार व्यापार संघका कार्यवाहक अध्यक्ष कामी नुर्बु तामाङ रहेको समिति बनेको छ । उनीहरु सबैले कैयाङलाई साथ दिनुमा आर्थिक स्वार्थ जोडिएको छ ।



प्रतिक्रिया दिनुहोस्