Logo

‘ढुंगेल गलत मान्छे हो’



निलम्बनमा प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेललाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने पक्षमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पुगेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत डिएसपी ढुंगेललाई एक महिनाअघि निलम्बन गरिएको थियो ।

ढुंगेल निलम्बनमा परेकोमा आईजीपी खुशी छन् । ढुंगेलले पछिल्लो समय अस्वभाविक सक्रियता बढाएको भन्दै खनालले आफ्नो कार्यकाल अवधिभर उन्मुक्ति नदिने अठोट लिएका छन् । खनालले आफू मातहातका अधिकृतहरुलाई भनेका छन्,‘ढुंगेल गलत मान्छे हो ।’ उनले ढुंगलको निलम्बन फुकुवा गर्ने काम नगर्नु भनेर संगठनभित्रपनि निर्देशन दिईसकेका छन् । अपराधिक प्रवृत्ति भएका मान्छेलाई कारबाही गर्नुपर्छ भन्नेमा उनी पुगेका छन् ।

तर, ढुंगेल भने आफूमाथि लागेको निलम्बन फुकुवा गराउनको लागि शक्ति केन्द्र धाउन व्यस्त छन् । प्रहरी प्रधान कार्यालयले झण्डै महिना दिनअघि डिएसपी ढुंगेललाई निलम्बन गरेको थियो । चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको हो ।

अपराध महाशाखामा अनुसन्धानका क्रममा रहेको एउटा मुद्दामा सम्पर्क देखिएकाले उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयको दाबी छ । लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो।

डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए। गत चैत २६ गते काठमाडौं(२९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए।



प्रतिक्रिया दिनुहोस्