Logo

असार ४ गतेबाट प्रधानमन्त्री कप महिला क्रिकेट टि–२० प्रतियोगिता–२०७६ हुँदै



प्राईम टीभीले लाईभ गर्ने

काठमाडौं, २९ जेठ । महाकाली स्पोर्ट्स सोसाईटीको आयोजनामा प्रधानमन्त्री कप महिला क्रिकेट टि–२० प्रतियोगिता–२०७६ हुने भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त प्रतियोगिता सञ्चालन गर्नेबारे आयोजकले जानकारी गराएको हो । आयोजकका अनुसार कञ्चनपुर महेन्द्रनगरको खुल्लामञ्चमा हुने उक्त प्रतियोगिता आगामी असार ४ गतेबाट सुरु हुनेछ ।

आयोजकले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हामीले आयोजना गर्ने यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको नीति नियममा रहेर परिषदसँगको सम्झौताअनुरुप कार्यक्रमलाई सञ्चालन गर्नेछौं ।’ उक्त प्रतियोगिताको आयोजना गर्न अठासी लाख रुपैयाँ लाग्नेपनि आयोजकले जनायो । त्यस्तै, प्रतियोगितामा लाग्ने कुल खर्चमा पैंतिस लाख रुपैयाँ खेलकुद परिषदले दिने र बाँकी परिषदले तोकेको शीर्षकमा प्रायोजक खोजी महाकाली स्पोर्टस सोसाईटीले व्यवस्थापन गर्ने जनाईएको छ ।

उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । विज्ञप्तीमा भनिएको छ,‘जसमा सात प्रदेश र एक विभागीय टोलीको सहभागिता रहनेछ ।’ प्रतियोगिताको विजयी टिमलाई पाँच लाख र उपविजेता टिमलाई तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनायो । त्यस्तै, प्रतियोगिताको वुमन अफ द सिरिजलाई तीस हजार, उत्कृष्ट बलर र ब्याट्स वुमनलाई समान पन्ध्र हजार प्रदान गरिनेपनि आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार प्रतियोगिता अवधिभरि प्रत्येक वुमन अफ द म्याचलाई दुई हजार पाँच सय प्रदान गरिने छ । चौथो संस्करण प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०७६ को मुख्य प्रायोजकका रुपमा मिराई एजुकेशन एण्ड भिजा सर्विसेज प्रा.ली. अष्ट्रेलिया नामक संस्था रहेको छ । त्यस्तै, प्रतियोगिताको सपोर्टेडमा एनसेल प्राईभेट कम्पनी रहनेछ ।

उक्त प्रतियोगिता भने प्राईम टाईम्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । टेलिजिभनका अध्यक्ष ऋषि धमलाले उक्त प्रतियोगितालाई सफल तुल्याउनको लागि आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने विश्वास दिलाए । उनले भने,‘महिला क्रिकेट प्रतियोगिता हो, यो आफैंमा देशको गौरवको विषय हो । नेपाललाई विश्वसामू चिनाउनको लागि क्रिकेट खेलको ठूलो योगदान छ । त्यसैले यो खेलको संरक्षण र प्रर्वद्धनमा सबै लाग्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्