नेकपा मालेका महासचिव सीपी मैनालीले स्वतन्त्र नेपालका लागि राजा महेन्द्रको उल्लेख्य योगदान रहेको चर्चा गरे । राजा महेन्द्रको एक सय औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित ‘राष्ट्रियता, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध’का सन्दर्भमा राजा महेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक प्रवचन गोष्ठीमा बोल्दै मैनालीले नेपालका जतिपनि राजनीतिक पार्टीहरु छन् ति सबै पार्टीभित्र कोही राष्ट्रप्रेमी छन्, कोही राष्ट्रघाती पनि छन् तर राजा महेन्द्रको राष्ट्रप्रेम भावनालाई अहिले पनि मनन्योग्य रहेको विचार व्यक्त गरे ।
उनले भने,‘धर्म निरपेक्षका प्रवक्ताहरुले होलीवाईनकाण्ड मच्चाए, त्यसले गर्दा क्रिश्चियनहरु लर्को बढेको बढै छ, यसले देशको रक्षा गर्दैन, म क्रिश्चियन विरोधी हुँ, धर्मनिरपेक्ष क्रिश्चियन सापेक्ष हो ।’
मैनालीले दावी गर्दै भने,‘पश्चिमा राष्ट्रहरुको होलीवाईन आईएनजीओहरुले नेपालमा द्वन्द्व निम्त्याउँदै छन्, भोली हिन्दू र क्रिश्चियनबीच युद्ध भयो भने उनीहरुले यीनै क्रिश्चियनहरुको हातमा बन्दूक थमाउँछन् र नरसङ्घार निम्याउँछन ।’
बानेश्वरको आल्फा हाउसमा आयोजना गरिएको प्रवचन कार्यक्रममा राप्रपाका बरिष्ठ नेता विश्वबन्धु थापा, पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले राजा महेन्द्रको व्यक्तित्वको विषयमा चर्चा गरेका थिए ।