जेठ ३२, काठमाण्डौ । सिजरियन सेक्सन अर्थात शल्यक्रिया मार्फत बच्चा जन्माउने प्रक्रिया अप्राकृतिक विधि हो । महिलाको प्राकृतिक सुत्केरी हुने गुण विपरीत पेट चिरेर बच्चा निकाल्ने प्रविधिको रूपमा पछिल्लो समय सिजरियन गर्ने क्रम बढेको छ ।
शताब्दीऔँदेखि मानिसले प्राकृतिक रूपमा बच्चालाई जन्म दिँदै आएकोमा पछिल्लो समय सि–सेक्सन अर्थात शल्यक्रिया मार्फत बच्चा जन्माउने प्रवित्ति बढ्दै गएको छ । यसले तत्काललाई कुनै जोखिम नभएपनि भविष्यमा यसबाट ठूलो समस्या निम्तने जनस्वास्थ्यका विज्ञहरु बताउँछन् ।
पछिल्लो समय सरकारी अस्पतालमा भन्दा निजी अस्पतालहरुमा सिजरियन सेक्सन बाट बच्चा जन्मदिने क्रम बढ्दै गइरहेको छ । सि सेक्सन गराउनेको सङख्या निजि अस्पतालमा सरकारीको भन्दा ६० दखि ७० प्रतिशतले बढी देखिन्छ । सरकारी भने शल्यक्रिया गर्नेपर्ने बिरामीको मात्र शल्यक्रिया गरिन्छ ।
तर निजी अस्पतालमा भने सामान्य रुपमा सुत्केरी हुनसक्ने महिलाको पनि सिजेरियन हुने गरेको छ । जसले गर्दा गर्भवति महिलाले प्रसव पीडा त भोग्न पर्दैन तर अप्राकृतिक विधि मौलाउँदो छ । अस्पतालले पनि शल्यक्रिया गराएपछि बढि दिन अस्पतालमा राख्न पाउँछ र आम्दानी बढ्छ ।
पछिल्लो समय निजी अस्पतालमा हुने यस्तो प्रविधिले समाजमा विकृति निम्तने सम्भावना बढेको देखिन्छ । काठमाडौँमा त केही नर्सिङ होम र मेडिकल कलेजमा लग्यो भने सामान्य रुपमा सुत्केरी हुने महिलालाई पनि सिजेरियन नै गर्छन् ।
कुनै अवस्था यस्तो पनि हुन गर्दछ कि कुनै गर्भवती महिलालाई स्वाभाविक डेलिभरी गर्नसक्ने महिलाहरुलाई पनि अस्पतालहरुले शल्यक्रियाबाट बच्चा जन्माउन बाध्य बनाउने गर्दछन् । सामान्यतया बच्चा आवश्यकताभन्दा ठूलो हुँदा, बच्चा आउने बाटो सानो हुँदा, एकदमै उच्च रक्तचाप भएका गर्भवतिहरुलाई मात्र शल्यक्रिया मार्फत बच्चा निकाल्नुपर्ने अवस्था आउने चिकित्सकको भनाइ छ ।
नेपालमा पनि शल्यक्रियामार्फत सुत्केरी गराउने दरमा उल्लेखनीय बृद्धि भएको देखिन्छ । नेपालमा रहेका सबै अस्पतालहरुमा एउटै दरमा सिजरियन हुने गरेका छैनन् । अस्पतालमा रहेको सुविधा, बिरामीको चाप र प्रकार अनि अस्पतालको नीतिले पनि सिजरियन हुने दरमा असर गर्नसक्छ । सिजरियन सुबिधा नभएको स्वास्थ्य संस्थामा सिजरियन भएको नदेखिने हुन्छ भने यस्ता संस्थाहरुबाट रिफर गर्ने अस्पतालमा सो बढि देखिने हुन्छ ।
निजी अस्पतालहरुमा सिजेरियन डेलिभरीका लागि ३० हजारदेखि एक लाख रुपियाँसम्म तिर्नुपर्छ । पैसाका लागि त्यसो गर्नु अनैतिक हो । तर वरिष्ठ चिकित्सकहरु संलग्न निजी अस्पतालहरुमा नै यस्तो अभ्यास बढी देखिने जनस्वास्थ्यविद डा.अरुणा उप्रेती बताउनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अस्पतालमा हुने डेलिभरीमा १५ प्रतिशतसम्म शल्यक्रिया हुनु स्वभाविक मानिन्छ । यसबाट बिरामीको हित हुन्छ भन्ने संगठनको मान्यता छ । पछिल्ला दिनमा भने सिजेरियन अर्थात शल्यक्रिया गर्ने प्रविृति बढेको छ । यही क्रम जारी रहे कालान्तरमा महिलामा रहने प्राकृतिक रुपमा सुत्केरी हुने गुण र क्षमतामा नै ह्रास आउने तर्फ विज्ञहरुले सचेत गराएका छन् ।