असार ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धारणा व्यक्त गर्लान् भन्ने चासो सबैमा छ ।
यद्यपी युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
तर भ्रमणको जानकारी औपचारिकताका लागि भए पनि अहिले जल्दोबल्दो विषय बनेको गुठी विधेयकबारे प्रधानमन्त्रीको धारणा महत्वपूर्ण हुने छ ।
प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्नेछन् ।
सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।
त्यसैले प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान छ ।
त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छन् । सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरे पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।
यसअघि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । गुठी विधेयकप्रति चासो राख्ने वडा तहदेखिकै नेता कार्यकतासमेत उपस्थित बालुवाटार छलफलमा केहीले भने तत्कालका लागि विधेयक स्थगन गर्न सुझाब दिएका थिए ।
गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए ।
अधिकांशले विधेयक फिर्ता नै लिनुपर्ने अडान राखेकाले ओली दोधारमा परेका छन् । आफ्नै दलका केही सांसदले चर्को विरोध गर्दै विधेयक फिर्ता नलिए भोली विशला प्रदर्शन गर्ने चेतावनी दिइरहेका छन् ।
गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै उपत्यकामा केही दिनदेखि प्रदर्शन हुँदै आएको छ । आन्दोलन पक्षले ४ असारमा माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्ने तयारी गरेका छन् ।