Logo

भूमरीले तानेपछि हात दिंदा दिदै हराएका थिए अञ्जील



काठमाडौं, ३ असार । आँटिला स्वभावका अञ्जील डुबेको दृश्य हेर्न बाहेक केही गर्न सकेनन् उनका साथीहरुले । इन्द्रसरोवरको भूमरीले तानेपछि हात दिइरहे । पानीमा डुबेकाले आवाज निस्केको थिएन ।

भूमरीले तानेर लगेपछि साथीहरु बचाउनका लागि जान पनि सकेनन् । उनीसँगै गएका साथीहरुले अञ्जील डुबेको दृश्य सम्झदा अझै कहाली लाग्ने सुनाउँछन् । अञ्जील पानीमै हराए । साथीहरु किनारमा उभिएर बोलाइरहे । सरोवरमा कोही बोलेनन् ।

जेभिएर कलेज बौद्धबाट अध्ययन भ्रमणका लागि आइतबार कुलेखानी पुगेकामध्ये अञ्जील भनिने सुरज भेटवालसहित पाँचजना घुम्न निस्केका थिए । चारजना केटाहरु पौडी खेल्न थालेपछि केटी चाहिं किनारमा बसेर हेरिरहेकी थिइन् ।
गाउँलेले रोकेका थिए

पौडी खेल्न चारजना युवा तयार भएको देखेका स्थानीयले नखेल्न सुझाव दिएका थिए । तर, इन्द्रसरोवरको कञ्चन पानीमा डुबुल्की मार्ने धोका पूरा गरेरै छाड्ने हठ त्यागेनन् ।

पौडी खेल्न थालेको केही समयमै घटना सुनेपछि स्थानीयहरु सरोवरमा पुगेका थिए । यसअघि पनि इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा भूमरीले तानेर मृत्यु भएको घटना देखेका कारण स्थानीयले रोक्ने गरेका छन् ।

सशस्त्र प्रहरीको गोदाखोरले घण्टौंको प्रयासपछि सोमबार अञ्जीलको शव निकालेको थियो । उनको पोसमार्टम भइसकेको छ । ते¥हथुम घर भइ अनामनगर बस्दै आएका अञ्जील आँटिला स्वभावका थिए । यही स्वभावका कारण उनी इन्द्रसरोवरमा पौडी खेल्न डराएका थिएनन् । सरोवरको भूमरीले तानेर उनको प्राण लगेको हुनसक्ने अनुमान गरिएपनि प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्