काठमाडौं, ४ असार । नेपालको पहिलो भू–उपग्रह नेपालीस्याट–वानले पूरा काम गर्न एक हप्ता लाग्ने भएको छ । यसले अहिले गरिरहेको कार्यबारे सूचना पाउन पनि भुटानको भर पर्नुपर्ने भएको छ ।
नेपालसँग आफ्नै ग्राउन्ड स्टेशन नभएकाले भूउपग्रहबारेको सूचना पाउन भुटानको भर पर्नुपर्ने भएको हो । नेपालले भुटानसँग सूचना पठाउन अनुरोध गरेको छ । उसले सूचना पनि पठाइसकेको छ । नेपालीस्याटले पृथ्वीको परिक्रमा गरिरहेको छ ।
भुटानमा रहेको ग्राउण्ड स्टेशनले पठाएको सूचनाका आधारमा नेपालस्याटले पृथ्वीको परिक्रमा गरिरहेको छ । यसले प्रत्येक ९० मिनेटमा पृथ्वीलाई परिक्रमा गरिरहेको छ । हरेक दिन दुई देखि चारपटक नेपाल माथिको आकाशमा आइपुग्ने गरेको छ । नेपालको माथि आकाशमा आइपुग्दा प्रत्येक दिन छ मिनेट समय भूउपग्रहबारे सूचना प्राप्त हुन्छ ।
२ असारको साँझ नेपालीस्याट–वान रावण, इगुसी र स्पुकी–वान एकसाथ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण कार्यक्रमको अवलोकन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, जापानका लागि नेपाली राजदुत प्रतिभा राणा, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठलगायत जापानको चुकुबा स्पेस सेन्टरमा पुगेका थिए ।
नेपालीस्याट वान अन्तरिक्ष प्रक्षेपण गर्नुअघि अमेरिकी अन्तरिक्ष यात्री निक हेगको नेतृत्वको छ सदस्यीय अन्तरिक्ष यात्रीको टोलीले नेपाललाई के गरौं ? भनेर सोध्दा मन्त्री पोखरेलले गो भनेपछि अन्तरिक्षमा नेपाली स्याट छाडिएको थियो ।
५ वैशाखमा अमेरिकाको भर्जिनिया राज्यको वालप्स फ्लाइट सेन्टरबाट बर्ड थ्री प्रोजेक्ट अन्र्तगतको नानो स्याटलाइट पृथ्वीदेखि चार सय किलोमिटर टाढा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा राखिएको थियो । २ असारबाट नेपालीस्याट वानले पृथ्वीको कक्षबाट पृथ्वीलाई परिक्रमा गर्न सुरु गरेको छ ।
के छ भूउपग्रहमा
नेपाली नानो स्याटलाइट एक केजी तीन सय ग्राम तौलको छ । यसमा नेपाली झण्डा, नाष्टको लोगो र निर्माणकर्ताको नाम छ । भू उपग्रहले पृथ्वीको परिक्रमा गरी नेपालको भौगोलिक तस्वीर खिचेर पढाउन थालेको छ । भूउपग्रह नास्टले नेतृत्व गरेर क्यूटेकमा अध्ययनत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठसहित आठ जना सहभागी भई तयार गरेका थिए ।