Logo

यसकारण गरिन्छ घरघरमा लक्ष्मीपूजा



प्रा. डा. रामचन्द्र गौतम

जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने एउटा अवसर हो, लक्ष्मीपूजा । गृहस्थाश्रममा बस्नेलाई विद्या, बुद्धि, शक्ति र ऐश्वर्य सबथोक चाहिन्छ । आज धनसम्पत्ति र ऐश्वर्यका लागि महालक्ष्मीको उपासना गर्ने दिन हो । धनधान्य र ऐश्वर्यकी अधिष्ठात्री देवी महालक्ष्मीको गुणगान गाएर रातभर जाग्राम बस्ने चलन छ ।
लक्ष्मीपूजा गरिसकेपछि नसुत्नु भनिएकाले भैलो गाउने चलन चलेको हो । भैलो भनेको भलो होस् भनेको हो । गाउनेको पनि भलो होस्, गाउन लगाउनेको पनि भलो होस् । मध्यरात भएपछि आँगनमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ । लक्ष्मीको भजन गरेर रात छर्लंग बनाउने चलन पनि छ ।

लक्ष्मीपूजा गर्दा बिहान घर आँगन सफा सुग्घर र लिपपोत गर्ने, सायंकालमा लक्ष्मीका पाइला बनाउने चलन पनि छ । यसलाई लक्ष्मी हिँड्ने बाटो बनाउने पनि भनिन्छ । आँगनदेखि पूजाकोठासम्म पाइला बनाइन्छ । दियो, कलश र गणेश स्थापना गरेर लक्ष्मीपूजा गरिन्छ । सेलरोटी आदि पकवान र फलफूल आदि नैवेद्य लक्ष्मीलाई चढाइन्छ । लक्ष्मीपूजा गर्दा मन्त्र जान्ने मन्त्र पढ्छन्, नजान्नेले भावना मात्र भए पनि पुग्छ । पितृलाई वाक्य नै शुद्ध चाहिन्छ । तर देवताहरु श्रद्धा राखेर पूजा उपासना गरे पनि खुसी हुन्छन् । यो शास्त्रसिद्ध कुरा हो ।

तिहार उज्यालोको पर्व हो । सायंकालमा दीपमालिका सजाउने चलन पनि छ । लक्ष्मी उज्यालोदेखि प्रसन्न हुन्छिन् । अहिले विद्युतीय बत्ती पनि बाल्छन् । तर शास्त्रीय रुपमा घिउ र तिलको तेलमा भिजाएको बत्ती बाल्ने चलन छ । लक्ष्मीको उपासना गर्दैमा धनसम्पत्ति भित्रिने चाहिँ होइन । लक्ष्मी प्राप्तिको काम पनि गर्नुपर् यो । लक्ष्मीलाई खुसी पार्न उद्योग, पौरख र काम गर्नैपर्छ । आर्थिक समुन्नतिका लागि मिहिनेत पनि उत्तिकै चाहिन्छ । कम नगरी कहाँ फल प्राप्ति हुन्छ र ? मिहिनेतीलाई लक्ष्मीले पनि सहयोग गर्छिन् । आस्था, निष्ठा र भक्ति अनि भावना भयो भने लक्ष्मी प्रसन्न नहुने कुरै छैन ।
आज कुकुर तिहार पनि हो । सामान्यतः कुुकुरको पूजा गर्नेभन्दा उसलाई खुसी राख्ने हो । मानिसको जीवन यमजीवनसँग सम्बन्धित छ । यमराजको ढोकामा दुइटा द्वारपाल थिए, श्याम र सबल । कुकुरलाई मनुले मानिससँगै पहिले नै सृष्टि गरेका थिए । यमलोकमा कसले राम्रो काम गरेको छ, कसले गरेको छैन, ठीक र बेठीक कुकुरले सुँघेर पत्ता लगाउँथे । त्यसैले कुकुर प्रसन्न राख्ने र मनपर्ने खाने कुरा दिने चलन छ ।
पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. गौतमसँग आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्