काठमाडौं, ४ असार । मनसुन शुरु हुने भएपछि किसानको मुहारमा खुशी आउने भएको छ । ५ असारसम्ममा नेपालमा मनसुन शुरु हुने भएपछि किसानहरुलाई राहत मिल्ने भएको छ ।
बँगाल र भुटानमा भित्रिइसकेको मनसुन नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने भएको हो । यस वर्ष एक हप्ता ढिलो गरी मनसुन शुरु हुँदा किसानहरु चिन्तित भएका थिए । पानी नपर्दा गर्मी बढ्न गई जनजीवन प्रभावित भएको थियो ।
मनसुन प्रवेश गरेपनि देशभर अर्को हप्ताको अन्तमात्र सक्रिय हुनेछ । पूर्वी भेग हुँदै मौसम पश्चितर्फ सक्रिय हुनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । शुक्रबार पनि मेघगर्जनसहित केही स्थानहरुमा वर्षाको सम्भावना छ ।
मनसुन भित्रिएपछि आउँदो हप्ताबाट भारी वर्षा हुने सम्भावना रहेको छ ।