काठमाडौं, ५ असार । पहिलो खेलमा पराजित भएको लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकियो । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा अर्जेन्टिना पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा पछि परेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा कप्तानी मेस्सीले गोल गर्दै बराबरी गरे पनि थप गोल हुन नसक्दा टिम बराबरीमा रोकिन बाध्य भयो । ३७ औँ मिनेटमा रिचार्ड सान्चेजको गोलबाट पाराग्वेले सुरुवाति अग्रता लिएको थियो ।
अर्जेन्टिनाले दोस्रो हाफमा पेनाल्टी पायो । ५७ औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा लगेका हुन् । कोलम्बियासँग २–० ले पराजित भएर प्रतियोगिता सुरु गरेको गएका दुई पटकको फाइनलिस्ट अर्जेन्टिनाका लागि अघिल्लो चरण प्रवेशमै समस्या हुने देखिएको छ यसपटक ।
लगातार दुई खेलमा जित निकालेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा छ । दुई अंकसहित पाराग्वे दोस्रो स्थानमा रहेको छ । समान एक अंक भए पनि गोल अन्तरका आधारमा पछि परेकाले कतार भन्दा पनि पछि हुँदै अर्जेन्टिना पुछारमा छ । एजेन्सीको सहयोगमा