इश्वर कार्की, काठमाडौं । नाम सिंहदरबार तर जताततै भुस्याहा कुकुर । देशको प्रशासनिक केन्द्र सिंहदरबारमा भुस्याहा कुकुरको बिगबिगीले समस्या बढाएको छ ।
भुस्याहा कुकुरका कारण सिंहदरबारभित्र दुर्घटना समेत भएको छ । यसै हप्ता साँझ भुस्याहा कुकुरले बाटो काट्दा सिंहदरबारभित्रको सडकमा एकजना घाइते भए । प्रहरीका अनुसार सडकमा यत्रतत्र भुस्याहा कुकुर दौडने कारण दुर्घटनाको खतरा बढेको छ ।
सिंहदरबारस्थित नेपाल प्रहरीको सुरक्षा गणका प्रहरी सहायक निरीक्षक साजन मानन्धरले भुस्याहा कुकुरको समस्या रहेको स्वीकारे । उनले भने,‘भुस्याहा कुकुर नियन्त्रण गर्न निकै कठिन छ ।’ सिंहदरबार वरपरका पर्खालहरुमा रहेका प्वालहरुबाट कुकुर छिर्ने गरेको छ । गेटहरुबाट समेत कुकुर छिर्ने गरेका छन् ।
कुकुर हटाउनका लागि विगतमा प्रयास भएपनि फेरि उही अवस्था आएको छ । अहिले सिंहदरबारभित्र दर्जनौं कुकुरहरुको बिगबिगी छ । मूल सडक, बगैंचा देखि खाली ठाउँहरुमा कुकुरहरु दौडेको र बसेको देखिन्छ ।
सिंहदरबारभित्र रहेका क्यान्टिन र मेसहरुमा फ्याँकिएका खाना खान पाउने भएकाले पनि भुस्याहा कुकुर छिर्ने गरेका छन् । छिरेका कुकुररुले बच्चा उत्पादन समेत गरेबाट संख्या बढेको हो । सिंहदरबार क्षेत्रमा भुस्याहा कुकुरको व्यवस्थापन हुन नसक्दा प्रशासक देखि सेवाग्राही सम्मका लागि डरमर्दो भएको छ । भुस्याहा कुकुरहरु दौडने, भुक्ने देखि झगडा गर्ने सम्मका कारण समस्या बढेको छ ।
दैनिक देशका प्रधानमन्त्री देखि मन्त्री र उच्च अधिकारी आवत्जावत् गर्ने र प्रशासनिक काम गर्ने ठाउँमा भुस्याहा कुकुरको बिगबिगी बढिरहँदा पनि त्यसमा बेवास्ता भइरहेको छ । प्रहरीका अनुसार कुकुर व्यवस्थापन वा हटाउनका लागि कतैबाट निर्देशन आएको छैन ।
यसैगरी, कुकुरको संख्या बढ्दै जाने हो भने सिंहदरबार परिसरमा कुकुरको राज चल्न गई उच्च पदस्थ अधिकारी देखि सेवाग्राही सम्मलाई सुरक्षा खतरा पर्न सक्छ ।