Logo

ओलीको अस्त्र : मध्यावधीको धम्की



काठमाडौं, ५ असार । आफूमाथि चौतर्फी घेराबन्दी हुनथालेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकै कडा रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफूसँग भेट्न आउने देखि पार्टीका आन्तरिक प्रतिष्पर्धीसँग पनि कडा मिजास देखाउन थालेका छन् ।

गुठी विधेयकमा ब्याक हुनुपरेपछि ओली निकै रिसाएका छन् । संसदमा सरकारले दर्ता गरेको विधेयकहरु विवादमा परेपछि ओलीले आफूलाई घेराबन्दीमा पारेर असफल बनाउने चलखेल भइरहेको निकटस्थसँग भन्न थालेका छन् । तर, कुनै पनि हालतमा डटेर सामना गर्ने भनिरहेका छन् ।

ओलीले आवश्यक परे कडा अस्त्र फाल्ने चेतावनी समेत दिएका छन् । पार्टीका प्रभावशाली नेताहरुलाई उस्तै परे मध्यावधी चुनावसम्म जान पछि नपर्ने भनेपछि नेकपाको कोर टिमभित्र तरंग आएको बुझिएको छ । स्रोतका अनुसार ओलीले आफूसँग भएको अधिकार आवश्यक पर्दा प्रयोग गर्ने भन्दै मध्यावधी चुनावको धम्की समेत दिएका छन् ।

प्रधानमन्त्रीले पार्टीभित्र असहयोग भइरहेको भन्दै कडा कदम चाल्न सक्ने संकेत गरे । विशेषगरी गुठी विधेयकमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका प्रति ओली असन्तुष्ट छन् । लोकसेवाको विज्ञापनलाई लिएर प्रचण्डले सरकारलाई असजिलो पार्ने अभिव्यक्ति दिएका छन् । प्रचण्डले लोकसेवाको विज्ञापन रोकेर नयाँ विज्ञापन खोल्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

सरकारलाई हरेक कदमबाट पछाडि हट्न लगाएर ओलीलाई असफल बनाउन खोजेको विषय नेकपाभित्र चर्चाको विषय बनेको छ । ओली कतिपय मन्त्री र कर्मचारीहरुको भूमिकाप्रति सन्तुष्ट छैनन् । उनले सरकार र कर्मचारीतन्त्रमा हेरफेरको तयारी समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्