असार ७, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता केशव बडालले पार्टीभित्र छलफल र बैठकको मात्रा घटेकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले आन्तरिक छलफल कम हुँदा नेताहरुबीच मतभेद उत्पन्न भएको बताएका हुन् ।
नेता बडालले उचित समयका उचित विषयको छलफलका लागि आवश्यकताअनुसार बैठक र छलफल चलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई आग्रह पनि गरे ।
“ओलीजी लामो समय खट्नु भएको छ । तर आफू जति खटे पनि पार्टीभित्रको टिमलाई सँगसँगै लिएर हिँड्नुपर्छ ।” बडालले भने ।
छलफल र बहसले नै समस्याको किनारा लाग्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बडालको तर्क छ । बैठकमा छलफल भयो भने बेठिक निर्णय हुनबाट रोकिने उनको भनाई छ ।
शीर्ष नेताहरुकाबीचमा साझा धारणा बनाउनका लागि छलफल आवश्यक रहेको उनले बताए । कमी कमजोरी भए भन्दैमा हतारमा प्रतिक्रिया दिने र विवाद सृजना गर्ने काम नगर्न उनले शीर्ष नेताहरुलाई सुझाब पनि दिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै बडालले विवाद सृजना गर्ने गरी अभिव्यक्ति दिन नहुनेमा जोड दिए । “केपी ओलीले सकेन । मैले गर्छु भनेर कसैले फुर्ति नगरे हुन्छ ।” बडालले भने ।
अहिले ओलीको विकल्प खोज्ने बेला नभएको बडालको भनाई छ ।
बडालले केपी ओली नेतृत्वको सरकारका पालामा विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । अहिलेको सरकारले विगतको भन्दा धेरै काम गरिसकेको पनि बडालले दावी गरे ।
“काम भएन भन्ने आलोचना मात्रै हुन्छ । काम गर्न थालेपछि नै आलोचना हुने हो । यो स्वभाविक पनि हो । लोकतन्त्रमा जनताले विकास अझै धेरै भए हुन्थ्यो भन्नु सकारात्मक पक्ष हो ।” बडालले भने ।
तर गुठी विधेयक ल्याउँदा बेलैमा छलफल नगर्नु गल्ती भएको बडालले बताए । त्यसैगरी मिडिया काउन्सिल विधेयकका विषयमा कुरा गर्दै बडालले विकृति अन्त्यका लागि उचित व्यवस्था राख्नुपर्ने बताए ।
सामाजिक संजालमा विकृति बढेको भन्दै उनले सबै अनुशासनमा बस्नुपर्ने बताए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरप्रति असन्तुष्टी व्यक्त गर्दै बडालले विकल्पको प्रयोग गर्नुपर्नेमा जोड दिए । त्यसैगी अहिलेको समयमा हिंसा छोडेर शान्तिपूर्ण राजनीतिक गर्न विप्लवलाई बडालले सुझाब दिए ।