Logo

पूर्वमा भारी र पश्चिममा हल्का वर्षा हुने, तापक्रममा परिवर्तन नहुने



काठमाडौं, ७ असार । आउँदो हप्ता देशको पूर्वी भागमा भारी वर्षा हुने भएको छ भने मध्य भागमा मध्यम र पश्चिममा हल्का वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले एक हप्ताको अनुमान गर्दै झापा देखि महोत्तरीसम्मका जिल्लामध्ये केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशका अधिकांश स्थानमा तापक्रममा खासै परिवर्तन नहुने देखिएको छ । देशभर छिटफुट वर्षा भइरहेकाले तापक्रम सन्तुलनमा आएको हो । वर्षा नहुँदा यस हप्ताको आरम्भमा उखरमाउलो गर्मी महशुश भएको थियो ।

पश्चिम तराईका जिल्लाहरुमा भने तापक्रम केही बढ्ने देखिएको छ । पूर्वी र मध्य तराईमा तापक्रम अहिलेकै अवस्थामा रहने अनुमान गरिएको छ । बँगालको खाडी हुँदै पूर्वी भागबाट मनसुन प्रवेश गरेकाले पूर्वमा भारी वर्षाको सम्भावना देखिएको हो । आउँदो मंगलबार र बुधबार पूर्वी र मध्य तराईका जिल्लाहरुमा भारी वर्षाको सम्भावना छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र महोत्तरीमा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना रहेको हो ।

बारा, चितवन र रुपन्देहीमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बाँके र कैलालीमा आउँदो हप्तामा मेघगर्जनसहित वर्षाको सम्भावना छ । धनकुटामा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

दोलखा, काभ्रे र धादिङमा भारी वर्षाको सम्भावना रहेको छ । कास्की, पाल्पा र रुकुममा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना छ ।
दाङ, सुर्खेत र डोटीमा अबको हप्ता मध्यम वर्षाको सम्भावना छ । संखुवासभामा साताभरी मध्यम वर्षाको सम्भावना छ ।
हिमाली जिल्ला मुस्ताङमा हल्का वर्षा हुने अनुमानछ । जुम्ला र दार्चुलामा पनि आउँदो साता हल्का वर्षा हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्