जर्जियाको संसदमा रुसी भाषाको विषयले भएको विवादपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा कदम चालेका छन् । उनले रुसबाट जर्जिया उड्ने यात्रुवाहक जहाजको उडान रोकिदिएका छन् ।
रुसबाट जर्जियाका लागि उड्ने रुसी नागरिकलाई नजान भनिएको छ । जर्जियामा रहेका रुसी नागरिकको सुरक्षाका कारण फर्काउन निर्देश दिएका छन् ।
जुलाई ८ सम्म रुसी नागरिकलाई जर्जियाबाट फर्काएपछि उडान स्थगित हुने जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार क्रमलिनका प्रवक्ता डिमिट्रि पेस्कोभले रुसी नागरिकको सुरक्षालाई दृष्टिगत गरी निर्णय लिइएको बताए ।
जर्जिया भ्रमणमा रहेको रुसी सांसदहरुको भ्रमण दलले त्यहाँको संसदमा रुसी भाषामा बोलेपछि विरोध चर्किएको हो । विरोधपछि जर्जियाली संसदका सभामुखले पदबाट राजीनामा दिइसकेका छन् । प्रर्शनकारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरोध गर्नुका साथै रुसलाई शत्रु भने ।
रुस र जर्जियाबीच सन् २००८ मा भएको छोटो युद्धपछि सम्बन्ध बिग्रिएको छ । जर्जियाको केही क्षेत्रमा रुसी सैनिक बसेको भन्दै जर्जियाले विरोध गर्दै आएको छ ।