Logo

वीरेन्द्रका नातिनीहरु गिवार्णी र सुरांगना कहाँ छन्



काठमाडौं, ७ असार । दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नाश गरिएको भनिएपनि उनकी छोरीतर्फकी दुई नातिनीहरु मध्ये जेठी गिर्वाणी राणाले किशोरावस्था पार गरिसकेकी छिन् । कान्छी सुरांगना किशोरावस्था पार गर्दैछिन् ।

दुवैले देहरादुन बसेर शिक्षा लिए । १९ जेठ २०५८ मा भएको नारायणहिटी दरबार हत्याकाण्डमा आमा गुमाएका उनीहरुबारे बेला बेलामा चासो भइरहने गरेको छ । वीरेन्द्रको वंशका मुनाहरुबारे समेत चासो बढ्यो ।

दुवैले उच्च माध्यमिक तहको शिक्षा पूरा गरिसकेका छन् । देशबाहिर बसेरै स्तानक तहको अध्ययन गरिरहेका छन् ।
पिता गोरख शमशेर राणाले लामो समय विवाह गरेनन् । पछि लोकेन्द्रबहादुर चन्दकी भतिजी दिप्ती रानासँग विवाह गरे । उनीहरुबाट समेत सन्तान छ ।

पितृसत्तात्मक परम्पराले रोक्यो

दरबारहत्याकाण्डलाई सबैले बिर्सदै जाँदा घटनासँग जोडिएका र पीडितहरुको समेत आँसु ओभायो । सबै आ आफ्नो सामान्य जीवनमा फर्किएका छन् । तर, हत्याकाण्डपछि वीरेन्द्रको वंशमा छोरीतर्फका गिर्वाणी र सुरांगना बचेपनि उनीहरुले राजगद्दीको उत्तराधिकारी हुन पाएनन् । छोरीतर्फको हुनु र त्यसमाथि महिला हुनुले पनि उनीहरु हकदार भएनन् ।

राजपरिषद् नियमानुसार ज्ञानेन्द्र शाह उत्तराधिकारी बने । तर, उनै ज्ञानेन्द्रका पालामा अढाई सय वर्षको इतिहास बोकेको राजसंस्था इतिहासमा सिमित भयो । उनी अन्तिम राजा बन्न पुगे ।

पितृसत्तात्मक परम्पराका कारण वीरेन्द्रकी छोरी श्रुतीकी दुई मुना रानी बन्नबाट रोकिए । वीरेन्द्रका भाई ज्ञानेन्द्र राजा भए र उनको शक्तिको अतिमहत्वाकांक्षा राजतन्त्र अन्त हुनुको कारण बन्यो ।

रहस्यमयी हत्याकाण्ड

रहस्यमयी हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुती, वीरेन्द्रका भाई धीरेन्द्रसहित राजपरिवारका सदस्य मारिएका थिए । उक्त हत्याकाण्डको छानविन आयोगले दीपेन्द्रंले हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकालेपनि अधिकांश नेपालीले विश्वास गरेका छैनन् ।

दीपेन्द्र पशुपति शमशेर राणाकी पुत्री देवयानी राणाको प्रेममा परेको र परिवारले विवाहको अनुमति नदिएकाले उक्त घटना घटेको निष्कर्ष सरकारद्वारा घटिन छानविन आयोगले निकाल्यो । देवयानी भारतको खानदानी परिवारका ऐश्वर्य सिंहसँग विवाह बन्धनमा बाँधिइन् ।



प्रतिक्रिया दिनुहोस्