Logo

‘प्रस्तुति राम्रो नभएका मन्त्रीहरु हटाउनुपर्छ’



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् युवा नेता कृष्णभक्त पोखरेलले कार्यसम्पादनमा चुकेका र प्रस्तुति राम्रो देखाउन नसक्ने मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने बताएका छन् । मन्त्रीहरु हटाउनेबारे प्रधानमन्त्री ओली छलफलमा रहेकोले छिट्टै निश्कर्षमा पुग्नेपनि उनले विश्वास दिलाए । पार्टीभित्र शीर्ष तहमा सम्वाद नभएकोमा उनले गुनासो पोखे । तर, अब आगामी दिनमा नेताहरुबीचको सम्वादलाई बाक्लो बनाउनुपर्ने पनि उनले सुझाव दिएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलाले पोखरेलसँग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेकपाभित्र नेतृत्वमा विवाद छल्कियो नि ?

एउटा जीवन्त पार्टीमा क्रिया तथा प्रतिक्रिया र छलफल हुन्छन् । त्यसको अर्थ पार्टीभित्र एकदम ठूलो विवाद छ भनेर बुझ्नुुहुँदैन् । मूल नेतृत्वका बीचमा मूल विषयमा सहमति नै भएको छ । एकाध दुई विषयमा हुने छलफलको विषयलाई लिएर विवाद भयो भन्नुहुँदैन । छलफल भएकै विषयलाई अन्तरकलह भयो भन्नुहुँदैन् । नेतृत्वका बीचमा सम्वाद जारी रहन्छ ।

उसो भए तपाईहरुको अध्यक्षका बीचमा विवाद नै छैन त ? बाहिर त अध्यक्षका बीचमा महत्वपूर्ण विषयमा छलफल नभएको कुरा आएको छ नि ?

मूलतः कानुन निर्माण गर्ने कुरामा दुई फेज हुन्छन् । एउटा सरकारको तर्फबाट विद्येयकहरु तयार पार्ने । र, अर्को संसदले पारित गर्ने । सरकारको तर्फबाट ल्याउने विद्येयकहरुको बारेमा विभिन्न सरोकारवालाहरुसँग छलफल गरिएको छ । गुठी विद्येयकको विषयले नै अब गम्भिर र महत्वपूर्ण विद्येयकहरु ल्याउँदा पार्टीभित्र पनि छलफल गर्नुपर्दो रहेछ भन्ने कुरा यसपटक देखियो ।

नेकपाको अहिलेसम्म पोलिटब्यूरोलगायतका महत्वपूर्ण बैठकहरु बस्न सकेका छैनन, तपाईहरुको नेताहरु कहाँ छलफल गर्नुहुन्छ ?

कम्युनिष्ट पार्टी कार्यकर्ता वेश पार्टी भएको कारणले गर्दा कमिटीहरु चुस्त दुरुस्त हुनुपर्नेमा अहिलेसम्म यो एक वर्षको अवधिमा कमिटी गठन गर्ने, बैठक बस्ने काम भएको छैन । यो अत्यन्तै दुःखान्त पक्ष हो । अहिले जिल्ला कमिटीहरु बनेका छन् । अबको एक महिनाभित्र स्थानीय तहका कमिटीहरु पनि गठन हुन्छनु । यो काम क्लियर भैसकेपछि अब तल्लो तहमा प्राकृतिक दोहन रोक्नको लागि कमिटीहरु चुस्त दुरुस्त हुनुपर्छ । मूल नेतृत्वको बीचमा यतिवेला धेरै कामहरु बाँकी छन् । हामीले चुनावका बेला गरेका संकल्पहरु र घोषणापत्र छन् । जनतासामू गरेका वाचा तथा प्रतिबद्धताहरु छन् । शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण हिस्सा सत्यनिरुपण तथा मेलमिलापको काम बाँकी छ । जनतासामू गरेका प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामीलाई अब कुनै छुट छैन् ।

पार्टी एकता गर्दा एक विमानका दुई पाईलट भनियो, तर खोई त व्यवहारमा त्यस्तो देखिएको ?

अर्को महाधिवेशन नभएसम्म एक विमानका दुई पाईलट नै हुन नि । यही भावनाअनुसार चल्नुपर्छ । यदि उहाँहरुमध्ये जसले यो भावनाअनुरुप चल्ने कोशिस गर्नुभएको छैन । अब त्यसलाई सच्याएर अघि बढ्नुपर्छ । एकले अर्कोलाई कुसनैपनि कोणबाट कमजोर बनाउने काम गर्नुहुँदैन् । दुवैको भावनालाई काफी सम्बोधन गरेर अघि बढ्नुपर्छ । यदि यो स्पिरिटमा गईएन भने ठूलो दुर्घटना हुन्छ । हाम्रो पार्टीको नेतृत्व एकताबद्ध भएर अघि बढ्छ भन्नेमा म विश्वस्त छु । चूनौतिलाई अवसरको रुपमा परिणत गर्न सकिएन र पाएको अवसरलाई सही सदुपयोग गर्न सकिएन भने ईतिहासले हामीलाई धिक्कार्छ ।

दुई अध्यक्षबीच आलोपालो सरकार चलाउनेबारे पनि विवाद देखियो, के हुन्छ अब ?

सहमति भएका कुरा कति सार्वजनिक भएका छन् । कति भएका छैनन् । भएका सहमतिहरु कार्यान्वयन हुनुपर्छ । सहमतिहरु दृढतापूर्वक कार्यान्वयन हुनुपर्छ । दोस्रो कुरा, नियमित कार्य त स्वभाविक हो । तर, गम्भिर प्रकृतिका निर्णय गर्दा छलफल गर्नुपर्छ । सामूहिक निर्णयमा जान सकिएन भने पार्टी कहीँ न कहीँ च्यातिन्छ । त्यसलाई टाल्न गाहा«े हुन्छ । पार्टीलाई एउटै आत्माको रुपमा लिएर जाने कुरामा नेतृत्व गम्भिर हुनुपर्छ ।

तर, झलनाथ खनालले त प्रधानमन्त्री ओली एक्लै खोज्न हिँडेको आरोप लगाउनुभएको छ नि ?

शीर्ष नेताहरुले नियमित सम्वाद यदि गर्नुभएको छैन भने तत्काल स्थापित गर्नुपर्छ । कम्युनिष्ट पार्टीमा चेन अफ कमाण्ड पनि जरुरी छ । त्यसपछि कलेक्टिभ लिडरसिप पनि जरुरी छ । टाल्नै गाहा«े हुनेगरि च्यातिनुहुँदैन् ।

उसो भए आलोपालो सरकार चलाउनेबारे सहमति भएकै हो त ?

उहाँहरुबीच के सहमति भयो भन्ने कुरा हाम्रो तहमा आएको छैन् । जे सहमति नेतृत्वको बीचमा भएको छ, त्यो दृढतापूर्वक कार्यान्वयन गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । अहिले नै विश्वासको धरातल कमजोर भएको अवस्था होईन।

मन्त्रिमण्डल पुनर्गठन हुने तयारी भैरहेको छ भनिएको छ, यसमा सत्यता छ ?

प्रधानमन्त्रीले यो बीचमा मन्त्रीहरुको कामकारबाहीबारे नियमित रुपमा मूल्यांकन गर्नुभएको छ । प्रस्तुति र कार्यक्षमता नै देखाउन नसक्ने मन्त्रीहरुलाई राखिरहनुहुँदैन् । मन्त्रीहरुको प्रस्तुति, क्षमता र कार्यसम्पादको समिक्षा भैरहेको छ । यी सबै कुरालाई ध्यान दिएर प्रधानमन्त्री र हाम्रो पार्टीको मूल नेतृत्व एउटा निर्णयमा पुग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot