Logo

राजनीतिप्रति सुजाताको मोहभंग



रिपोर्टर्स नेपाल विशेष । ‘अब देशमा महिला प्रधानमन्त्री बन्नेछिन्,’ गिरिजाप्रसाद कोइरालाले एकपटक सार्वजनिक भन्दा तरंग आयो । सबैले ठाने अब गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई प्रधानमन्त्री बनाउन लागे ।

नेपाली राजनीतिमा निकै प्रभावशाली गिरिजाप्रसादले चाहेको मान्छेले शक्तिशाली पदमा पुग्न सक्थ्यो । उनले आफू बन्न नपाउँदा अरुलाई प्रधानमन्त्री देखि राष्ट्रपति सम्म बनाएका थिए । छोरीलाई प्रधानमन्त्री बनाउन सम्भावितहरुलाई पाखा लगाइदिएको आरोप पनि लाग्यो ।

घटनाक्रम सुजाता प्रधानमन्त्री हुने दिशातर्फ बढिरहेको छ । गिरिजाप्रसाद कोइरालाले छोरीलाई मन्त्री हुँदै उपप्रधानमन्त्री सम्म बनाए । काँग्रेसभित्र केही नेताले विरोध गरेपनि त्यसलाई साम्य पारे । अब गिरिजाप्रसाद कोइरालाले आफू रहँदै छोरीलाई प्रधानमन्त्री बनाउने पक्का भयो भनेर सुजाताको पछाडि लाग्नेहरुको संख्या बढ्दै थियो ।

त्यो समय पनि थियो, सुजाता कोइरालाको साथ विना नेता देखि कर्मचारीसम्मले राम्रो अवसर पाउन मुश्किल थियो । जसले अवसर पाए चुप बसे जसले पाएनन् विरोधमा उत्रिए । तर, सुजाता कारण अवसर पाउनेहरुले पनि उनको गुणगान कहिले सार्वजनिक रुपमा गाएनन् । कारण उनको विवादास्पद छवि ।

गिरिजाप्रसादको निधनपछिकी सुजाता

जब गिरिजाप्रसाद कोइरालाको निधन भयो तब सुजाताको पछाडि लाग्नेहरुको संख्या ह्वात्तै घट्यो । अवसरको लागि मण्डिखाटारको दैलो ढुक्नेहरु त्यस दिशातर्फ हेर्न सम्म छाडे ।

गिरिजाप्रसादको निधनपछि सुजाता पार्टीभित्र पेलाईमा परिन् । उनीबाट अवसर पाएकाहरुले पनि साथ छाडे । नेपाली काँग्रेसमा उनको वरियता समेत निकै तल राखियो । सुजाताले बाबुको नाम लिएर विगतमा आफूले लगाएको गुन नबिर्सन प्रभावशाली नेताहरुलाई चेतावनी दिइन् । उनी बाघको डमरुमै सिमित भइन् , बाघ बन्न सकिनन् ।

क्यान्सरपछिकी सुजाता

राजनीतिमा कमजोर भएपछि एक्लै जस्तै भइन् । विरामी भइन् । क्यान्सरको उपचार गराइन् । निकै लामो उपचारपछि तंग्रिइन् । क्यान्सरको उपचारका लागि सुजातालाई सरकारले सहयोग गरेको विषय पनि विवादमा प¥यो ।

सुजाताको स्वभावमा निकै परिवर्तन आयो । उनलाई विगतमा घमण्डी भन्नेहरुले अर्कै पाए । सुजाता शान्त स्वभावकी भइन् । निकटस्थका अनुसार उनी योगा र ध्यानमा लागिन् । अध्यात्मिक चिन्तन मनन गर्न थालिन् । सबैलाई सकारात्मक सोच्न भन्न थालिन् । नयाँ जीवन पाएकाले शान्तसँग बस्ने इच्छा गरिन् ।

राजनीतिक महत्वाकांक्षा नभएकाले पिता गिरिजाप्रसादको नाममा सामाजिक कामहरु गर्न अगाडि सरिन् । क्यान्सरको उपचारपछि सुजाता गिरिजाप्रसाद कोइराला फाउण्डेशनलाई सक्रिय बनाउन लागिपरिन् । देशभर फाउण्डेशनको शाखा विस्तार गरिन् । जहाँ पुगिन् फाउण्डेशनलाई राजनीतिबाट अलग व्यवहार गर्न र सोच्न भनिन् । आखिर किन सुजाता राजनीतिबाट टाढा हुन खोजिन् ?

राजनीतिप्रति मोहभंग

सुजाताले क्यान्सरको उपचारपछिको जीवनलाई भाग्यले पाएको ठानेकी छिन् । त्यसैले उनी राजनीतिबाट टाढिदै गएकी छिन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य र समानुपातिकतर्फको सांसद भएपनि खासै सक्रिय छैनन् । उनको राजनीतिप्रति मोहभंग हुँदै गएको छ ।
पछिल्लो समय जीपी कोइराला फाउण्डेशनको शाखा विस्तारका लागि विदेश छिन् ।

उनले मकाओ र हङकङ पुगेर शाखा विस्तार गरिन् । देशका सबै जिल्लामा शाखा विस्तार गरेपछि विदेशमा पनि गर्दैछिन् । कतिपयले यसलाई राजनीतिक शक्ति संचयको माध्यम पनि भनेका छन् । तर, सुजाता राजनीतिभन्दा सामाजिक गतिविधिबारे सुन्न चाहन्छिन् ।

कोइराला परिवारभित्र आफू भावी सभापतिको दाबेदार नभएको संकेत गरिसकिन् । उनले डा. शेखर कोइराला र डा. शशांक कोइरालालाई मिलेर जानुपर्नेमा जोड दिदै आएकी छिन् । दुवैलाई मिलाउन कोसिस गरिन् । सुजाताले राजनीतिक मैदान नछाडेपनि उपल्लो पदमा पुग्ने महत्वाकांक्षा छाडिसकिन् । उनी पिता गिरिजाप्रसाद कोइरालाको नाममा सामाजिक क्रियाकलापमार्फत् सक्रिय हुन खोजिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्