Logo

राष्ट्रियसभामा गुठी विधेयक फिर्ताको प्रस्ताव दर्ता, खारेज गर्नुपर्ने गुठियारको माग



असार ८, काठमाण्डौ । चर्को विवादपछि गुठी विधेयक फिर्ता लिने निर्णय गरेको सरकारले यसको प्रक्रिया सुरु गरेको छ । विधेयक फिर्ता लिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सरकारले औपचारिक रुपमा प्रस्ताव अघि बढाएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले विधेयक फिर्ता लिनेसम्बन्धी औपचारिक प्रस्ताव शुक्रबार राष्ट्रियसभा सचिवालय सचिवालयमा दर्ता गरेको छ ।

राष्ट्रियसभा सचिवालयमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शुक्रबार विधेयक फिर्ताको प्रस्ताव पेश गरेको हो । राष्ट्रियसभा कार्यसञ्चालन नियमावली अनुसार कुनै पनि प्रस्ताव फिर्ता लिनुभन्दा पहिले प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ । यस्तो प्रस्ताव सामन्यतया फिर्ता लिनुभन्दा २४ घन्टा पहिलो नै गरिसक्नु पर्ने नियमावलीमा व्यवस्था छ ।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले विधेयक फिर्ताको निर्णय गरेको थियो भने मन्त्री पद्माकुमारी अर्यालले असार ३ गते नै विधेयक फिर्ताको घोषणा गरेकी थिइन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा मन्त्री अर्यालले प्रक्रिया समेत सुरु भइसकेको जनाएकी थिइन् ।

राष्ट्रियसभा बैठक मंगलबार बस्दैछ । उक्त बैठकमा विधेयक फिर्ताको कार्यसूची राखिने सम्भावना छ । यता विधेयकको विरोधमा आन्दोलन गरिरहेका गुठियारहरुले भने फिर्ता गरेर मात्र नहुने भन्दै खारेजीकै माग गरिरहेका छन् ।

सरकारले वैशाख १७ गते गुठी विधेयक दर्ता गरेको थियो । जेठ १३ गतेको राष्ट्रियसभाको बैठकमा सामान्य छलफलपछि संशोधनको प्रक्रिया अघि बढेको थियो । उक्त प्रक्रिया अघि बढेपछि विधेयकमा प्रस्तावित विषयमा विवाद भएको थियो ।



प्रतिक्रिया दिनुहोस्