Logo

पम्फालाई खोलामा, चमेलीलाई होटलमा



काठमाडौं, ८ असार । हेर्दा कुनै चलचित्रका नायक जस्ता छन् उनी । आकर्षक जीउडाल र मुहारका उनले धेरै महिलालाई प्रेमको पासोमा पार्थे । आफ्नो स्वार्थ पूरा भएपछि छाडिदिन्थे । केही महिला निकै क्रेजी भए । छाड्न नमानेपछि हत्या सम्म गरे ।

नेपाल प्रहरीमा हवल्दार पदसम्म पुगेका उनी दुईजना महिलाको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा परे । पहिलो घटनामा उनले अदालतबाट सफाई पाए । अर्को घटनामा अदालतले फैसला गर्दैछ ।

गोरखा घर भएका ३३ वर्षीय राजेन्द्र तिवारीले २०६५ सालमा आरुघाटमा खटिंदा एक महिलासँग सम्बन्ध राखेका थिए । पम्फा कार्की नामकी विवाहित महिलासँगको सम्बन्धले चर्चा पाएपछि त्यहाँको समाजले सँगै लिएर जान वाध्य पारिदियो । तिवारीले महिलालाई लिएर त गए तर बुढीगण्डकीमा फालिदिएको विषयले निकै चर्चा पायो ।\

उक्त घटनापछि तिवारीमाथि मुद्दा दर्ता भयो । अदालतले उनलाई सफाई दिएपछि पुनः प्रहरी सेवामा फर्किए । तिवारीको बानी सुध्रिएन । उनले २०७५ साउत ३ मा अर्को घटना घटाए । पेशाले शिक्षिका चमेली घलेसँग निकटता बनाए । फेसबुकमार्फत् बनाएको निकटता पछि भेटे पनि । रसुवाको विद्यालयकी शिक्षिका चमेलीको शव काठमाडौंको होटलमा भेटियो । शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएकी उनको हत्यामा संलग्न भएको अभियोगमा तिवारी पक्राऊ परे ।

२०७५ को साउनमा पक्राऊ परेका तिवारीले बलात्कारपछि हत्या गरेको आरोप घले परिवारले लगाएको छ । विगतमा पनि हत्यामा संलग्न भएकाले तिवारीको आपराधिक चरित्र रहेको आरोप घलेका दाजु कमलबहादुर घलेले लगाए । विगतमा महिलाको हत्यामा उन्मुक्ति पाएकाले यसपटक कुनै हालतमा पाउन नहुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्