असार ८, काठमाण्डौ । उपभोक्ता समितिमार्फत पुनः निर्माण थालिएको रानी पोखरी छिटै सम्पन्न हुने विश्वास गरिएको थियो । कसले र कसरी बनाउने भन्नेमा लामो समय विवाद भयो । अन्ततः भक्तपुरको एक उपभोक्ता समितिले काम सुरु गरेपछि आशा पलाएको थियो । तर समस्या सुरु भइसकेको छ । पुनः निर्माणमा खटिएका समितिका कामदारले पारिश्रमिक पाउन छाडेका छन् । यसले जुनसकै बेला निर्माण कार्य रोकिने आशंका उब्जिएको छ ।
अघिल्लो वर्षको फागुनदेखि रानीपोखरीको पुर्ननिर्माणको काम सुरु भएको थियो । आगामी तिहारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर काम सूरु हूँदा निकै उत्साह थपिएको थियो । ७२ सालको भूकम्पले क्षति पुर्याएपछि तीन वर्षभन्दा बढि समय कसले बनाउने, कसरी बनाउने र कहिले बनाउने भन्ने विवादमा अल्झिएका बेला भक्तपुरको एक उपभोक्ता समितिले कामको जिम्मेवारी पाएको थियो ।
भक्तपुरको कालिगढको टोली आवद्ध समितिले जिम्मेवारी पाएलगत्तै काम सुरु गर्दा धेरैले ठूलो अपेक्षा र विश्वास गरेका थिए । काम पनि तीब्र गतिमा भइरहेको थियो । तर अहिले समस्या सुरु भएको छ । पुनर्निर्माणमा खटिएका ५५ जना कामदारहरुले तलब पाएका छैन । विगत दुई महिनादेखि तलव नपाउँदा आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।
काठमाडौंको मुटुमा रहेको रानीपोखरीको पुर्ननिर्माणमा लामो समयदेखि महानगर र पुरातत्व विभागको विवादका कारण अलमलमा परेको थियो । तर विवादका बाबजुद राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्ननिर्माण जिम्मा लिएर रानी पोखरी पुर्ननिर्माण उपभोतmा समितिसँगको सहकार्यमा काम सुरु गरेको थियो ।
रानीपोखरी पुनः निर्माणमा खटिएका कामदारहरुमध्ये अधिकांश महिला छन् । तिमध्ये पनि कतिपय त एकल महिला छन् । रानीपोखरी पुनः निर्माण गर्ने काम पाउँदा उत्साहित भएका उनीहरु अहिले निराश छन् ।
रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले भने पुर्ननिर्माण प्राधिकरणले पैसा नदिएका कारण समस्या सुरु भएको गुनासो गरे । पहिलो चरणमा प्राधिकरणले दिएको ९४ लाख रुपैयाँ निर्माण सामग्री जटाउँदा सकिएको उनले बताए । कामदारले पारिश्रमिक नपाएको विषयमा भने आफू अनभिज्ञ रहेको तुलाधर बताउँछन् ।
सरोकारवाला निकायको कमजोरीका कारण कामदार मर्कामा परेका छन् । यो समस्या तत्काल समाधान गर्न नसके रानी पोखरी पुनः निर्माणमा जुनसुकै बेला अवरोध आउन सक्छ । तसर्थ समस्या समाधानका लागि बेलैमा ध्यान दिने कि ?