Logo

सुन गाँड्नेदेखि झोल बनाएर तस्कर गर्नेसम्म



काठमाडौं, ८ असार । सुन तस्करीमा सक्रियहरुमध्ये कोही सवारी चालक छन् भने कोही सुन व्यापारी । केही सुन चोरी गरेर छिमेकी भारतबाट ल्याएपछि पक्राऊ परेका छन् । केहीको शैक्षिक स्तर निकै कम रहेको छ ।

नेपाल प्रहरीका अनुसार कन्चनपुर झलारी बस्ने लक्ष्मण तिरुवा सुनको अवैध कारोवारमा २ फागुन २०७५ मा पक्राउ परे । उनी अवैध रुपमा भारतबाट सुन भित्र्याएर लुकाएपछि पक्राउ परेका हुन् । कन्चनपुर शुक्लाफाँटमा उनकै घरभित्र खाल्टो खनी राखेको ५ केजी र पूर्णवाशस्थित शंकर विकको घरमा खाल्डो खनी लुकाएको १८ केजी अवैध सुन सहित उनी पक्राउ परेका हुन् । जम्मा २ कक्षासम्म अध्ययन गरेका उनी भारतमा सवारी चालकको काम गर्थे ।

तिरुवाजस्तै सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम हाल बढ्दो छ । चालु आर्थिक वर्षको ११ महिनामा सुनको अवैध कारोबारमा संलग्न १ सय ७ जना पक्राउ परेका छन् । उनीहरुमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत ४ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना रहेका छन् । गत आर्थिक वर्ष २०७४र०७५ मा अवैध सुन ओसार पसार कार्यमा संलग्न ९० जना मात्र पक्राउ परेका थिए ।

नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्षमा पक्राउ परेका व्यक्तिहरुबाट ८४ किलो ३ सय ३७ ग्राम ७ तोला अवैध सुन बरामद भएको छ । उक्त सुनमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट ३६ किलो ६ सय ४० ग्राम, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ७ तोला, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतबाट ११ किलो १ सय ८८ ग्राम, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गतबाट १० किलो, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अन्तर्गत १ किलो ७ ग्राम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गतबाट २५ किलो ५ सय १ ग्राम बरामद भएको हो ।

साथै अवैध सुन कारोबारीबाट २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ राजश्व असुली भएको छ । उक्त असुलीमध्ये सबैभन्दा बढी महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट १२ करोड ९० लाख ३३ हजार ९ सय ३५ रुपैयाँ र सबै भन्दा कम २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ४ लाख ५३ हजार ६ सय रुपैयाँ छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अवैध कारोबारमा संलग्न व्यक्तिहरुको सूचना राखेर पक्राउ गर्ने अभियान तीव्र पारिएको बताए । उनले कारोबार भन्दा पनि पक्राउ गर्ने क्रम बढेको बताए ।

खुल्ला सीमा चुनौती

प्रहरीले खुल्ला सिमाना र विमानस्थल लगायतका कारोबार हुने स्थानमा आधुनिक उपकरणको कमीका कारण अवैध कारोवारले प्रसय पाएको निष्कर्ष निकाले छ । अपराधले निरन्तरता पाउँदा चुनौति समेत बढेको छ । आधुनिक प्रविधिको कारण कारोबारीले सुनको अवैध कारोवारमा पनि नयाँ कार्यविधि र शैली अपनाएको पाइन्छ । जसले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको छ । यस्ता आपराधिक क्रियाकलाप रोक्नका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक भएकोले नेपाल प्रहरीको ध्यान यसतर्फ केन्द्रीत रहेको जनाएको छ ।

तस्करीको शैली

अवैध सुनको कारोवारमा संलग्न व्यक्तिहरुले तस्करीका विभिन्न तरिकाहरु अपनाउने गरेका छन् । प्रायस् सुनलाई लिक्विड बनाएर गुदद्वारमा राख्ने, फल्सवटम बनाई लुकाउने, सुटकेशको डण्डीभित्र राख्ने, सुनको बाहिर फरक धातुको जलप लगाउने, सुन भन्दा फरक आकारमा राखेर ओसारपसार गर्ने गरेको पाइएको छ ।

यस्ता कारोबार नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दीप भण्डारी भन्छन्, “भन्सारसँग समन्वय गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय इन्टेलिजेन्स प्रयोग गरी काम गर्छौ । विशेष निगरानी, प्राप्त सूचना, प्रविधिको प्रयोग र समन्वयको आधारमा त्यस्ता कारोबारी फेला पारी पक्राउ गर्न प्रहरी सफल हुँदै आएको बताएको छ ।

सुनको अवैध कारोवार नियन्त्रणका लागि प्रहरीले आधुनिक प्रविधिको प्रयोग, विमानस्थल तथा भन्सारमा आवतजावत गर्ने व्यक्तिहरुलाई विशेष निगरानी तथा जाँच गर्ने गरेको जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुन तस्करविरुद्ध कडा कदम चालिरहँदा तस्करहरु पक्राऊ पर्ने क्रम चलिरहेको हो । उनले तस्करीविरुद्ध सुन्य सहनशीलता अपनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्