Logo

टर्कीका पूर्वप्रधानमन्त्री इस्तानबुलको मेयरमा पराजित



राष्ट्रपतिलाई झड्का

इस्तानबुलको मेयरका लागि भएको चुनावमा टर्कीका पूर्व प्रधानमन्त्री बिनाली इल्ड्रिम पराजित भएका छन् । सत्तारुढ ए.के. पार्टीका उम्मेदवार इल्ड्रिम विपक्षी सी.एच.पीका उम्मेदवार इर्केम इमामोग्लुसँग पराजित भएका हुन् ।

इल्ड्रिमले ४५ प्रतिशत मत हासिल गर्दा विजयी उम्मेदवार इमामोग्लुले ५४ प्रतिशत मत हासिल गरेका छन् । यसअघिको चुनावमा पनि इमामोग्लु विजयी भएपनि धाँधलीको भएको भन्दै अदालतले पुनः चुनाव गर्न आदेश दिएको थियो । पुनः चुनाव हुँदा इमामोग्लुले यसअघि हासिल गरेको मतभन्दा बढी मत ल्याए ।

चुनावी नतिजाले टर्कीका राष्ट्रपति रिकेप टाइप इरडोगेनलाई राजनीतिक धक्का पुगेको छ । टर्कीको राजनीतिमा एकछत्र राज गरेका उनी गृहक्षेत्र इस्तानबुलमा पकड गुमाउन पुगेका छन् ।

इरडोगेन सन् १९९४ देखि १९९८ मा इस्तानबुलको मेयर थिए । टर्कीको राजनीतिमा इस्तानबुलको मेयर हुनु भनेको भावी राष्ट्रपतिको दाबेदार हुनु हो । टर्कीको सबैभन्दा ठूलो र व्यापारिक केन्द्र इस्तानबुल यूरोपसँग आवत्जावत् र व्यापारका दृष्टिले पनि निकट छ ।

टर्कीमा विपक्षीको जितसँगै राष्ट्रपति इरडोगेनको शक्ति घट्ने आँकलन भइरहेको छ । विजयी इमामोग्लुले टर्कीमा नयाँ शुरुवात भएको बताइसकेका छन् । भविष्यमा उनले राष्ट्रपति इरडोगेनलाई कडा चुनौती दिने संकेत गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्