भारत भ्रमणमा पुगेका अमेरिकी विदेशमन्त्री माइकल पोम्पिओले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । बुधबार उनीहरुसँग छुट्टछुट्टै भेटवार्ता गरेका हुन् ।
भारतीय विदेशमन्त्रालयले भेटमा मोदीले अमेरिकासँगको द्विपक्षीय व्यापार, ऊर्जा, रक्षा र आतंकवादविरुद्धको कदममा लक्ष्य हासिलका लागि बलियो प्रतिवद्धता व्यक्त गरेका जनाएको छ । भेटमा पोम्पिओले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिएका थिए ।
बुधबार नै पोम्पिओले भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका थिए । जयशंकर विदेशमन्त्री भएपछि पोम्पिओ आफै भारत आएर भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
जी ट्वेन्टी देशहरुको जापानमा हुनलागेको सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकी विदेशमन्त्री भारत पुगेका हुन् । जापानको ओसाकामा हुने सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।
तस्वीरः भारतीय विदेश मन्त्रालय