Logo

इरानको तेल आयात रोक्न भारतलाई अमेरिकी प्रस्ताव



नेपालमा के प्रभाव पर्ला
इरानमाथि व्यापार प्रतिबन्ध लगाएको अमेरिकाले विश्वभर माहोल सृजना गर्न खोजिरहँदा भारतलाई इरानको तेल खरिद नगर्न कुटनीतिक तहबाट आग्रह गरेको छ । तेल निर्यातमा निर्भर इरानको अर्थतन्त्रमा ठूला आयातकर्ताले खरिद नगर्दा अप्ठ्यारो पर्न सक्छ । विश्वभरका आपूर्तिकर्तालाई इरानको तेल खरिद नगर्न अमेरिकाले दबाब सृजना गरिरहँदा भारतसामु नयाँ प्रस्ताव गरेको छ ।

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले इरानको कच्चा तेल खरिद रोक्न भारतलार्य प्रस्ताव गरे । उनले बुधबार नयाँ दिल्लीमा बोल्दै इरानको तेल खरिद रोके भारतले पर्याप्त तेल आपूर्ति गर्न सक्ने सुनिश्चितता गर्ने बताए । यसबाट पोम्पिओको भ्रमण आर्थिक र रणनीतिक महत्वको भएको देखिएको छ ।

भारतले अमेरिकाबाट तेल आयातमा व्यापक वृद्धि गरिरहँदा पोम्पिओको प्रस्ताव बाहिर आएको हो । भारतले प्रति दिन एक लाख ८४ हजार ब्यारेल कच्चा तेल अमेरिकासँग खरिद गर्छ । यो दुई वर्ष अघिको भन्दा साँढे चार गुणा बढी हो ।

इरानसँग भारतले प्रति दिन पौने तीन लाख ब्यारल तेल खरिद गरिरहेको छ । जुन विगत वर्षको तुलनामा ४८ प्रतिशतले कम हो । भारतले साउदी अरेबियासँग प्रति दिन आठ लाख चार हजार ब्यारल तेल खरिद गर्दै आएको छ । युएईसँग प्रति दिन तीन लाख ६० हजार र इराकसँग १० लाख ब्यारल तेल खरिद गर्दै आएका ेछ ।

भारत विश्वमै सबैभन्दा तेल आयात गर्ने देशहरुको सूचीमा तेस्रो नम्बरमा पर्छ । अमेरिका र साउदी अरेबियासँग कच्चा तेल आयात बढाउँदै जाँदा इरानसँग निकै घटाएको छ । इरानबाट विगतमा गर्ने आयातभन्दा आधा मात्र आयात गर्न थालेको छ । इराकबाट आयात गर्ने तेलको परिणाम पनि घटाएको छ ।

नेपालमा पर्ने असर

नेपालले इन्डियन आयल कर्पोरेशन आइओसीसँग तेल खरिद गर्छ । उसले कच्चा तेल खरिद गरेर प्रशोधन गरी अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपाललाई बेच्छ ।

आइओसीले आयात गर्ने तेल अमेरिका, साउदी अरेबिया, इरान, युएई, इराकलगायत मुलुकको हो । तेल जुनसुकै देशबाट आएपनि अन्तर्राष्ट्रिय मूल्य अनुसार नै पर्ने हो । तर, तेल उत्पादक देशहरुमध्ये एकले अर्काको तेल विक्री रोकेर एकाधिकार निर्माण गर्न खोज्छन् । जसका कारण कच्चा तेलको मूल्य बढ्न गई तेलको मूल्यमा वृद्धि हुन्छ ।

तेल उत्पादक देशहरुको भूमिकाले पनि तेलको मूल्य बढ्ने र घट्ने हुनसक्छ । तेलको उत्पादनमा कटौती गरिदिए यसको मूल्य बढ्न सक्छ । जसका कारण नेपालजस्तो देश मूल्यवृद्धिको मारमा पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot