काठमाडौं । कारागारको जीवन बिताईरहेका राजपा नेपालका केन्द्रिय सचिव एवम् निलम्बित सांसद रेशम चौधरीलाई आफ्नै पार्टीका शीर्ष नेताहरुले बेवास्ता गरेका छन् । विरामी भएर वीर अस्पतालमा उपचार गराईरहेका चौधरीलाई अहिलेसम्म भेट्नको लागि राजपाका शीर्ष नेताद्धय राजेन्द्र महतो र अनिल झामात्रै गएको बुझिएको छ । चौधरीले आफ्नै पार्टीका नेताहरुले बेवास्ता गरेकोमा दुःखेसो पोखेका छन् ।
चौधरीलाई अस्पतालमा भेट्न पुग्दा समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले खुट्टामा नेल लगाएर उपचार गराईरहेको तस्विर बाहिर ल्याएका थिए । बाबुरामकै कारण आफ्नो खुट्टामा लगाईएको नेल निकाल्न प्रहरी बाध्य भएको चौधरीले बताएका छन् । आफ्नो खुट्टामा नेल लगाउनको लागि प्रहरी निरिक्षक पुरुषोत्तम थपलियाको भूमिका रहेको चौधरीको भनाई छ ।
आफूलाई भेट्न अहिलेसम्म महन्थ ठाकुर, राजकिशोर यादव, शरदसिंह भण्डारी र महेन्द्र राय यादव कोही पनि भेट्न नआएको चौधरकिो गुनासो छ । बरु, समाजवादी पार्टी, नेपालका नेताहरु चौधरीलाई भेट्न पुगेका थिए ।
चौधरीले आफू हरेक दृष्टिकोणले निर्दोष रहेको स्पष्ट पारेका छन् । उनले टिकापुर घट्नाबारे मिडियाले सत्य, तथ्य कुरा बाहिर ल्याउनको लागि भूमिका खेलिदिओस भन्ने आशा राखेका छन् । उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक रहेको छ । पछिल्लो समय उनको उच्च रक्तचाप नियन्त्रण भएको छैन ।