अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानमाथि कसैले आक्रमण गरे तेस्रो विश्वयुद्ध लड्ने बताएका छन् । बुधबार फक्स बिजनेश नेटवर्कसँगको अन्तवार्तामा ट्रम्पले अमेरिकामाथि कसैले आक्रमण गरे जापानले कुनै सहयोग गर्नुनपर्ने प्रतिक्रिया दिए ।
‘हामीमाथि कसैले आक्रमण गरे जापानले हामीलाई कुनै सहयोग गर्नुपर्दैन, सोनी टेलिभिजनमा आक्रमण हेरे हुन्छ, ’ जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी हुन जापानको ओसाका जानु अघि फक्स न्युजसँग ट्रम्पले भने,‘जापानमाथि कसैले आक्रमण गरे हामी हाम्रो जीवन र सम्पत्तिका साथ तेस्रो विश्वयुद्ध लड्छौं ।’
राष्ट्रपतिको निर्वाचनको प्रचारप्रसारको क्रममा पनि ट्रम्पले सन् २०१४ मा यस्तै प्रतिक्रिया दिएका थिए । उनले जापानलाई अमेरिकाले सुरक्षा सहयोग गरेपनि त्यसको जस नपाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र जापानबीच घनिष्ठ सम्बन्ध छ । दुवै देशबीच सैन्य सम्बन्ध पनि छ । विगतमा युद्ध लडेका दुई देशबीच निकट सम्बन्ध भएपनि ट्रम्पले जापानको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।