Logo

देउवा हटाउन पौडेल र सिटौला यसरी लागे



काठमडौं, १२ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टीभित्र घेराबन्दी बढेको छ । उनलाई कुनै हालतमा सभापतिबाट हटाउन पार्टीका शक्तिशाली नेताहरु एकढिक्का हुनथालेका छन् ।

देउवालाई अहिले प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले कडा चुनौती दिइरहेका छन् । उनले बेलैमा महाधिवेशन नगरे कडा कदम चाल्ने चेतावनी समेत दिइसकेका छन् ।

जागरण अभियान सकेर समिक्षा भइरहँदा सिटौलाले शक्ति देखाउन थालिसके । उनी बुधबार आयोजित जागण अभियानबारेको अन्र्तक्रिया बैठकमा सहभागी भएनन् । बैठक बहिष्कार गर्दै देउवालाई चुनौती दिए ।

सिटौलाले अब देउवाले महाधिवेशन गर्न आलटाल गरे विशेष महाधिवेशन गरेर हटाउने रणनीति बनाएका छन् । त्यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ लिइसकेका छन् । समयमै महाविधेशनको पक्षमा पौडेल पनि छन् । त्यसमा आलटाल भए दुई नेता मिलेर देउवालाई हटाइदिने रणनीति समेत बनिसकेको छ ।

महाधिवेशन समयमै नगरे देउवालाई पद त्याग्न दबाब दिने सम्मको रणनीति पौडेल र सिटौलाले बनाइसकेका छन् । काँग्रेसभित्र देउवाविरुद्धको मोर्चाबन्दीले नेतृत्वको प्रतिष्पर्धा पेचिलो बन्दै जाने देखिएको छ ।

आगामी महाधिवेशनका लागि काँग्रेसभित्र भित्र भित्र गणितीय अभ्यास भइरहेको छ । देउवा अर्को कार्यकालका लागि तयारी गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलामात्र नभई कोइराला परिवारका डा. सशांक कोइराला र शेखर कोइरालाका अलावा पूर्व महामन्त्री प्रकाशमान सिंह पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् । देउवाविरुद्ध पौडेल, सिटौला, सिंह र कोइराला परिवार मोर्चाबन्दी भएमा नेतृत्व परिवर्तनको सम्भावना छ । त्यसैले देउवा यो समूहलाई मिल्न नदिने गरी लागिपरेका छन् ।



प्रतिक्रिया दिनुहोस्