Logo

पर्याप्त वर्षा नहुँदा धानरोपाईमा ढिलाई



काठमाडौं, १३ असार । यस वर्ष मनसुन १० दिन ढिलो गरी नेपाल पस्दा कृषि क्षेत्रमा असर परेको छ । धान रोपाईमा ढिलाई भइरहेको छ । असारको मध्यसम्ममा पनि अधिकांश खेतहरु बाँझो छन् ।

सिंचाई हुने क्षेत्रमा पनि धान रोपाईले गति लिन सकेको छैन । आकाशे पानीको भर पर्नुपर्ने ठाउँहरुमा धान रोप्न नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।

काठमाडौं उपत्यकाका कृषियोग्य क्षेत्रहरुमा धान रोपाईले गति लिन सकेको छैन । नदी किनारका क्षेत्रहरुमा रोपाईं चलिरहेको छ ।

हल्का र खण्डवृष्टि मात्र भइरहेको छ । शुक्रबार विहान पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भयो ।

मौसम पूर्वानुमान महाशाखाले यस हप्ता पनि देशका अधिकांश स्थानमा भारी वर्षा नहुने अनुमान गरेको छ । शुक्रबार दिउँसो पूर्वका केही स्थानहरुमा साथै मध्य र पश्चिम भेगका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको छ । राति पनि हल्का वर्षा हुने अनुमान छ ।

शनिबार पनि पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धान नेपालको मुख्य बाली हो । कुल ग्राहस्थ उत्पादनमा धानबालीले अन्य बालीको तुलनामा बढी योगदान पु¥याउनेगर्छ । धान उत्पादनमा कमी आएमा देशको कुल ग्राहस्थ उत्पादनमा समेत नकारात्मक असर पर्न जान्छ ।



प्रतिक्रिया दिनुहोस्