Logo

टाउकाको मूल्य तोक्ने देउवा र तोकिने प्रचण्ड मिल्दै



द्वन्द्वकालीन मुद्दाहरु अन्तर्राष्ट्रिकरण गर्न खोजेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक ठाउँमा पुगेका छन् । दुवै नेताहरुले शान्ति प्रक्रिया अझै नटुंगिएको निष्कर्ष निकाल्दै ठोस कदम चाल्नेबारे छलफल गरे ।

बिहिबार प्रचण्ड र देउवाबीच ललितपुरको समिट होटलमा गम्भीर छलफल भयो । द्वन्द्वकालीन मुद्दालाई निष्कर्षमा पुर्याएर नजाँदा शान्तिपूर्ण मूलधारमा आइसकेका नेताहरुलाई समस्या आएको भन्दै नेताद्वयले यसमा गम्भीरताका साथ छलफल गरेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार दुई नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दा पर्ने अप्ठ्याराहरुबारे छलफल केन्द्रित भएको थियो । शान्ति प्रक्रियाका मुख्य दुई पक्षको नेतृत्व गिरिजाप्रसाद कोइराला र आफूले लिएकाले टुंगोमा पुर्याउन आफूलाई साथ दिन देउवालाई आग्रह गरेका थिए । उनले कोइरालाको निधनपछि देउवाको काँधमा जिम्मेवारी आएकाले मिलेर जान भनेपछि देउवा आक्रोशित भएका िथए ।
देउवाले मिलेर जान आफूले वातावरण बनाउँदा किन धोका दिएको ? भनी प्रश्न गरेका थिए । आफूलाई धोका दिंदा प्रचण्डले पश्चात्ताप गर्नुपर्ने समय आउन लागेको समेत भनेका थिए ।

पछिल्लो समय द्वन्द्वकालिन मुद्दा ब्युँताएर प्रचण्डलाई असजिलो बनाउन खोजिएको विषय उनी निकटस्थले उठाइरहेका छन् । कुनैपनि बेला विदेश भ्रमणमा जाँदा नेताहरु समातिने खतरा छ । नेकपा अध्यक्ष प्रचण्ड अमेरिका जाँदा उनी समातिने अवस्था निर्माण भइसकेको थियो । तर, अमेरिकी सरकारले उनको सम्भावित पक्राउलाई टार्ने कदम चालेको थियो ।

द्वन्द्वकालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालिन विद्रोही नेकपा माओवादी अध्यक्ष प्रचण्डसहितका मुख्य नेताहरुको टाउकाको मूल्य तोेकेका थिए । शान्ति प्रक्रियामा आएपछि विगतका युद्धकालिन विषयले दुवै नेताले चुनौती भोगिरहेका छन् । विशेषगरी प्रचण्डलाई यूरोप, अमेरिका र अष्ट्रेलियामा जाँदा समस्या छ ।

द्वन्द्वकालीन मुद्दा ब्युँताएर टाउकोमा तरबार झुण्ड्याउने र अप्ठ्यारोमा पार्ने गतिविधि प्रचण्डलाई नेकपाभित्रबाट भइरहेको विषय उठिरहेको छ । प्रचण्डले द्वन्द्वकालिन मुद्दाको टुंगो लगाउने देखि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्मको भित्री सहमति गरेर नेकपा एकीकरण गरेको भएपनि त्यसतर्फ कुनै काम अगाडि नबढेपछि शतर्क भइरहेका छन् । त्यसैले उनले देउवासँग फेरि निकटता बढाएका छन् ।

विगतमा प्रचण्ड र देउवा मिलेर आलोपालो प्रधानमन्त्री भएका थिए । तर, चुनाव अघि देउवा प्रधानमन्त्री हुँदा प्रचण्ड ओलीसँग नजिकिएर गठबन्धन बनाएर चुनाव लडेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot