काठमाडौं, १३ असार । सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्छ : महासचिव भण्डारी
उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उनले भने,‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।’
क्लबमा सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले ग्रेडले नतिजामा कुनै फरक नपारेको सुनाए । उनले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको सुनाए । सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए ।
उनले भने,‘परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन, अब परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि सामूदायिक विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ ।’
नेपालमा पाठ्यक्रम विकास गर्दा पर्याप्त छलफल तथा परामर्श नै नभएको पनि भण्डारीको गुनासो छ । सामूदायिक विद्यालयतर्फबाट राम्रो नतिजा ल्याउने विद्यार्थीको पृष्ठभुमि निजी विद्यालयमा अध्ययन गर्नुनै मुख्य रहेको पनि उनले दाबी गरे ।
‘शिक्षक शिक्षण कमजोरीका कारण नतिजा सन्तोषजनक आएन’
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए ।
त्यस्तै, उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उनको आरोप छ ।
उनले भने,‘अहिलेको शिक्षा पद्धतीनै गलत छ । यसलाई सच्याउनुपर्छ ।’ उनले व्यवहारिक शिक्षा प्रणालीलाई लागु गर्नुपर्नेमा जोड दिए ।
भण्डारीले कक्षा दशमा लिईने टेष्ट परीक्षालाई खारेज गर्नुपर्ने आवश्यकत्ता औंल्याए । मुलुक संघीय प्रणालीमा गैसकेको भएपनि अझैसम्मपनि शिक्षा क्षेत्रले उक्त प्रणालीअनुसार आफ्नो संरचना बनाउन नसकेको उनको गुनासो थियो ।
केन्द्रगत परीक्षा प्रणाली नै गलत छ : अध्यक्ष सापकोटा
कार्यक्रममा एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरेका छन् । उनकाअनुसार यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक आएन ।
सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको सुनाए । उनले भने,‘यो अवधिमा विद्यार्थीहरु कुलतमा फस्ने खतरा धेरै छ । त्यसैले यो अवधिलाई ध्यान दिएर उनीहरुको तह छुट्याउनुपर्छ ।’ नेपालको शैक्षिक सत्रनै अव्यवहारिक र समयसापेक्ष नभएको उनको धारणा छ ।
सरकारले शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै काम गरेन : सह–अध्यक्ष ढुंगाना
त्यस्तै, प्याव्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’
सरकारले नीतिगत रुपमै शिक्षा क्षेत्रमा विभेद सिर्जना गरेको उनको आरोप छ । उनले भने,‘सामूदायिक विद्यालयमा सरकारले ठूलो साईजमा लगानी गरेको छ, तर, उसको नतिजा हेर्दा परीणाम शुन्य छ । जबसम्म अभिभावकमा जनचेतना, शिक्षण विधि र जवाफदेहिता हुँदैन, तबसम्म शिक्षा प्रणाली राम्रो हुँदैन् ।’
ढुंगानाले नेपालमा कुन शैक्षिक प्रणाली अपनाउने भनेर एकिनका साथ कार्यक्रम तथा नीति लागु गर्न नसकिएको पनि गुनासो पोखे । उनले थपे,‘नेपालमा शिक्षा प्रणालीबारे जहिल्यैपनि परीक्षणमात्रै गरियो ।’ उनले पनि शैक्षिक क्यालेण्डर सुधार गर्नुपर्नेमा जोड दिए ।
एसईईको सान्दर्भिकता नै छैन : सुरेन्द्र केसी
कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरे । उनले भने,‘राजनीति प्रणाली सप्रियो भने नेपालको शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ ।’
केसीले नेपालमा एसईईको कुनै सान्दर्भिकता नै नभएको दाबी गरे । उनले भने,‘जे रोप्यौं, आज त्यही फलेको छ । शिक्षा आयोग गठन गर्दा नै गलत गरिएको छ । आसेपासेलाई मात्रै नियुक्ती गरिएको हो । त्यहीअनुसार परीणाम आउँछ । हामी राम्रो नतिजा आउने बाटोमा हिँडेकै छैनौं ।’
केसीले मुलुकमा सिपमूलक शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाप्रति नेपालीहरु बफादार नभएको पनि गम्भिर टिप्पणी गरे ।