Logo

धान उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको सपना (भिडियोसहित)



असार १३, काठमाण्डौ । सरकारले मुलु्कलाई धानमा आत्मनिर्भर बनाउन घोषणा गरेको तीन बर्ष बित्न लागि सकेको छ । तर, यसबिच आत्मनिर्भरताको भन्दा पनि भारतमाथिको परनिर्भरता दिन दुगुना रात चौगुना जसरी बढिरहेको छ । यता सरकारले भने लक्ष्यअनुसार काम गर्नै सकेको छैन ।

सरकारले प्रत्येक बर्ष धान दिवस धुमधामका साथ मनाउदै आएको छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण चामल आयातमा न्यूनिकरणभन्ने नारा लिएर यो बर्ष सरकारले १६ औ राष्ट्रिय धान दिवस मनाउदै छ । नारामै चामलको आयातमा न्यूनिकरण गर्ने भनेर मुलुकलाई धानमा आत्मनिर्भर बनाउने सरकारी प्रयास भने सफल हुन सकेको छैन ।

एक दशक अगाडीसम्म दुई अर्बको धान र चामल आयात गरिने गरिएको कृषिप्रधान मुलुकमा चालू आर्थिक बर्षको १० महिनामा मात्रै २४ अर्ब ५० करोड रुपैयाको चामलमात्रै आयात भएको छ । सरकारले आर्थिक बर्ष २०७४÷७५ देखि आगामी २०७६÷७७ भित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने भनेर घोषणा गरेको थियो । विशेषतः असार महिनालाई धान रोप्ने महिनाको रुपमा भनेर चिनिन्छ ।

तर, १० दिन मनशुन ढिला सुरु हुदा यो बर्ष अधिकांश स्थानमा धान रोपाई सुरु भएको छैन । असारको मध्यसमयमा पनि ११.६४ प्रतिशतमात्र रोपाई हुन सकेको छ । गत बर्षको यस अवधिमा १५.९ प्रतिशत रोपाई भएको थियो ।

यो बर्ष उच्च पहाड र मध्य पहाडको तुलनामा कम बर्षात भएका कारण तराईमा सबैभन्दा कम रोपाई भएको छ । धान खेती हुने अधिकांश भूभाग तराईमा भएकाले समयमा धान रोपाइँ नहुँदा उत्पादनमा असर पर्ने धानविज्ञहरुले बताउने गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद नार्कअन्तगरत बाली विज्ञान महाशाखाका सूचना अधिकृत राजेन्द्र कुमार भट्टराईले सिंचाइको प्रबन्ध प्रभावकारी नभएसम्म धान उत्पादन बढाउन नसकिने बताए ।

 

नेपाल कृषि अनुसन्धान परिषद नार्कअन्तगरत बाली विज्ञान महाशाखाका सूचना अधिकृत राजेन्द्र कुमार भट्टराई

मुलुकमा १५ लाख हेक्टर जमिन अर्थात कुल जमिनको ५० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । तर धान रोप्ने समयमा किसानले आकाशे पानीको भर पर्नुपर्छ । खेतीयोग्य भुभागको ६५ प्रतिशत जमिनमा मात्रै बर्षभरी सिंचाई सुविधा रहेको छ ।

जसले गर्दा क्षमता भएजति धान उत्पादन हुन सकेको छैन । धानको उत्पादन नै कम हुदा भारतबाटमात्रै बर्षेनी २५ अर्बको चामल आयात हुने गरेको तितो यथार्थ छ । सरकारले घोषणा मात्रै गर्ने कायान्वयन नगर्ने प्रवृत्ति छोडेर जति सकिन्त त्यति काम नतिजा आउने गरी गर्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्