Logo

परराष्ट्र सम्बन्धबारे प्रधानमन्त्रीको यस्तो आग्रह



प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले आज राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा उहाँले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताए।   “मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ,” प्रधानमन्त्रीले भने ।

नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्णरुपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको प्रधानमन्त्रीले बताए।

“राष्ट्रलाई विकास–निर्माणको बाटोमा डो¥याउन हाम्रा एक्ला प्रयास पर्याप्त छैनन्, मित्रहरूको साथ र सहयोग चाहिन्छ, बाह्य लगानी एवं प्रविधि भित्र्याएर लक्ष्य हासिल गर्न सकिन्छ,” ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आवश्यक पर्ने बाह्य सहायताको महत्व दर्शाउँदै उहाँले अनुदान र ऋण नभई लगानी ल्याउन देशको कूटनीति परिलक्षित हुनुपर्नेमा जोड दिए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्