Logo

रक्तपातपूर्ण इतिहास केलाउँदै प्रचण्डले किन मारिन सक्ने खतरा देखे



समाचार विश्लेषण । तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सेनापति प्रकरणपछि प्रधानन्त्री पदबाट हटेर आफ्नो हत्या गर्ने षड्यन्त्रबारे सार्वजनिक रुपमा बोलेका थिए । सेनापति प्रकरणपछि सत्ताबाट हट्््नुपर्दाको पीडा भन्दै धेरैले प्रचण्डको अभिव्यक्ति आक्रोशको परिणाम भने ।

शनिबार फेरि प्रचण्डले हत्याको षड्यन्त्र हुनसक्ने औल्याए । आफूहरु पनि मारिन सक्ने भन्दै उनले विगतका हत्याकाण्ड र रहस्यमय मृत्युका घटनाबारे व्याख्या समेत गरे । मदन भण्डारी फाउण्डेशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले बोलिरहँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि थिए ।
प्रचण्डको अभिव्यक्ति त्यतिबेला आएको जतिबेला देशमा

शक्तिशाली व्यक्तिको हत्याको आशंकाहरु गर्न थालिएको छ । आफूहरु पनि मारिनसक्ने खतरा प्रचण्डले त्यसै औल्याएका छैनन् । त्यसमाथि उनले विदेशी शक्तिको भूमिकामाथि समेत आशंका व्यक्त गरेका छन् । अहिले प्रधानमन्त्री निकटस्थहरुले पनि सार्वजनिक रुपमा विदेशी चलखेलबारे अभिव्यक्ति दिइरहेका छन् ।

हत्या हिंसाको राजनीति

प्रचण्ड स्वयं हत्या हिंसाको राजनीतिबाट सत्ताको ढोका उघार्न पुगेका हुन् । उनले नेतृत्व लिएको दलले दश वर्ष लामो सशस्त्र गतिविधि गर्दा १८ हजार मारिए । उनीमाथि पार्टीकै कतिपय नेता कार्यकर्तामाथि षड्यन्त्र गरेको आरोप छ ।

हिंसात्मक राजनीतिमा प्रचण्डले खेलेको भूमिकाका कारण उनलाई सुरक्षा थ्रेट बढी नै छ । त्यही अनुसारको सुरक्षा पनि दिइएको छ । माओवादी जनयुद्धकै बखत दरबार हत्याकाण्ड भयो । रहस्यमयी हत्याकाण्डको रिपोर्ट तयार भएपनि यसमाथि आशंका छ । कस्ले हत्या गर्यो ठोस प्रमाण कसैसँग छैन ।

आधुनिक नेपालको इतिहासमा राजतन्त्र समाप्त गर्ने एउटा मुख्य आधार दरबार हत्याकाण्ड बन्यो । त्यसैले यसका पछाडि रणनीतिक उद्देश्य थियो भन्ने तर्क गर्ने ठाउँ छ । तर, तथ्य छैन दरबार हत्याकाण्ड कुन उद्देश्यले कस्ले गर्यो ।

नेपालको इतिहासमा हत्याकाण्डबाट सत्ता हत्याइएका घटना धेरै छन् । पृथ्वीनारायाण शाहपछि कतिपय राजाहरुको हत्या भयो । रणबहादुर शाह मारिए । राजेन्द्र वीर विक्रम शाहको रहस्यमयी मृत्यु भयो । त्रैलोक्य वीर विक्रम शाहको मृत्यु पनि रहस्यमयी बन्यो ।

प्रधानमन्त्री या काजी बन्न रक्तपात नै गर्नुपर्ने अवस्था पनि बन्यो । भीमसेन थापा, माथवरसिंह थापा, गगन सिंह मात्र नभई जङ्गबहादुर राणाका छोराहरु आफ्नै परिवारका सदस्य या नजिकका मित्रहरुबाट मारिए ।

राणाहरुबीचको द्वन्द्व व्यक्ति हत्या सम्म पुग्थ्यो । एकले अर्कोलाई सत्ताबाट हटाउन कि त रगत बगाउँथे कि त बल प्रयोग गर्थे । नेपाली राजनीति कहिले संग्लो ताल जस्तो बनेन । जहिले हिंसाको बाटो लिएर सत्तामा पुग्ने परम्परा बन्दै आयो ।

विदेशी चलखेल

अहिले देशमा शान्तिपूर्ण अवस्था छ । तैपनि, विदेशी चलखेल बढेको विषय उठिरहेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले केही विदेशीको भूमिका नेपालमा राजनीतिक अस्थिरता ल्याउन उद्दत रहेको सामाजिक सञ्जालमा लेखेका छन् । ती विदेशीहरु को को हुन् र कस्ता शक्ति हुन् स्पष्ट छैन । तर, नेपालमा भएका कतिपय उच्च तहका व्यक्तिहरुको हत्यामा विदेशीतर्फ औंला ठडिने गरेको छ ।

कमजोर देशका शासकहरु त्यसै पनि कम सुरक्षित हुन्छन् । जतिसुकै सुरक्षा घेराभित्र राखिएपनि उनीहरुलाई सुरक्षा थ्रेट हुन्छ ।

षड्यन्त्रपूर्वक राजनीतिमा कमजोर पारिने नसके हत्यासम्म गर्ने अफ्रिकी देशहरुमा भएका छन् । संवेदनशील राजनीतिक परिस्थितिबाट गुज्रिरहेको सामरिक महत्वका देशहरुमा नेतामाथि आन्तरिक मात्र नभई बाह्य सुरक्षा थ्रेट हुन्छ । त्यसैले प्रचण्डको अभिव्यक्तिमा दम छ । यहाँ जो जहिले पनि मारिनसक्छ !



प्रतिक्रिया दिनुहोस्