काठमाडौं, १५ असार । काठमाडौंको नाम चलेको विद्यालयका विद्यार्थीलाई शिक्षकले सोधे— चामल कहाँ फल्छ ?
विद्यार्थीको उत्तर थियो— बोरामा !
प्रश्न गर्ने शिक्षक पनि उस्तै थिए । चामल फल्दैन धानबाट चामल उत्पादन हुन्छ । विद्यार्थीको उत्तर गलत थिएन । उनले बोरामा चामल हालेर ल्याएको देख्थे । खेतबारी उनका लागि टाढाको विषय थियो ।
खेतीकिसानीलाई तल्लो स्तरको पेशा जस्तो व्यवहार गरिंदा बालबालिकामा धान, मकैं, गहुँ जस्ता खाद्यान्न कसरी उत्पादन हुन्छ भन्ने ज्ञानको कमी छ । उनीहरुलाई किताबी ज्ञान मात्र नभई ई बुक्समा सिमिति पारिएको छ ।
खेतबारीमा न त कोही जान चाहन्छ न त आफ्ना छोराछोरीलाई पठाउन चाहन्छ । खेतीकिसानी गर्न नपरोस् जस्तो छ सबैलाई । तर, खानेकुराको उत्पादन कृषिबाट हुन्छ ।
देशमा धान दिवस मनाइदै गर्दा आधा खेतीयोग्य जमिनमा धान रोपाई हुन सकेको छैन । खेतीयोग्य जमिनहरु प्लटिङ गरिएका छन् या घर निर्माण गरिएका छन् । जसका कारण देशमा धान आयात बढ्दो छ ।
कुनैबेला नेपाल धान निर्यातकर्ता मुलुक थियो । खेतीयोग्य जमिन प्रशस्त थिए । मानिसहरु खेतबारीमा तीनबाली उत्पादन गर्थे । अहिले खेतबारीमा जान चाहने कमै छन् । तराईका खेतहरुमा समेत काम गर्ने मानिस छैनन् । वैदेशिक रोजगारीले निकै समस्या ल्यााएको छ ।
देशमा धान उत्पादन घट्दै जाँदा सँसारभर धान, मकैं, गहुँ जस्ता बाली सन् २०५० मा दश प्रतिशतले घट्न जाने तथ्यांक छ । जनसंख्या ३० प्रतिशतले बढ्ने तर बाली उत्पादन १० प्रतिशतले घट्न गई भोकमरीको समस्या बढ्न सक्छ ।
नेपालमा कृषिका धेरै नारा बनाइने र योजना ल्याएर हल्ला गर्ने क्रियाकलाप धेरै भए । गमलामा धान रोपेर राष्ट्रिय धान दिवस मनाउने व्यस्त कृषिमन्त्रीहरु पनि आए गए । कृषि उत्पादनमा गुणस्तरीय वृद्धिभन्दा आफ्नो क्षणिक स्वार्थमा योजना बनाउनेहरु लागे । नयाँ पुस्ता विदेश जाने उद्देश्यले पढ्न थाले । उनीहरुका लागि माटो फोहोर बन्यो । त्यसैले चामल बोरामा उत्पादन हुने बुझ्न थाले ।