Logo

‘मैले गरेका राम्रा काम च्यातेर फालिदिए हुन्छ’



काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेका राम्रा कामहरुको चर्चा नगर्नको लागि आग्रह गरेका छन् । उनले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् ।

श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’

आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम् र सिर्जनात्मक पाटा उजागार गरी यस क्षेत्रको विकासबाटै गतिशील अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन, कानून, नीतिलगायत विषयमा छलफल हुनेछ । श्रम, रोजगार क्षेत्रका चुनौति, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल हुने श्रम मन्त्रालयले जनाएको छ ।

सम्मेलनको पहिलो दिन आज श्रम तथा रोजगारसम्बन्धी नीति पुनरावलोकनका पक्ष, श्रम आप्रवासन तथा विदेशबाट फर्किएका युवाको पुनः एकीकरण र कामको भविश्यका सम्बन्धमा यस क्षेत्रका जानकारले प्रस्तुत गर्ने कार्यपत्रमा सम्बन्धित विज्ञले टिप्पणी गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्