काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल वायुसेवा निगम र यसको नेतृत्वप्रति गम्भिर रुपमा प्रस्तुत भएका छन् । उनले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताएका छन् ।
आईतबार नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सवमा बोल्दै उनले निगमका कार्यकारी अध्यक्ष मदन खरेलप्रति असन्तुष्टि पोखेका हुन। प्रधानमन्त्री ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रश्न गरे । उनले भने,‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो । आफैं सक्ने भए छिटो गर्न पर्यो।’
प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन नसकिने भन्दै निगम व्यवस्थापनलाई कडा प्रहार गरेका छन। उनले थपे,यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ ।’