Logo

‘सांसदले ल्यापटप घर लान नदिइने’



काठमाडौं १७ असार । सभामुख कृष्णबहादुर महराले संघीय संसदका सांसदलाई ल्यापटप घर लान नदिइने बताएका छन् । उनले सदन र संसदीय समितिमा रहँदा संसदको काममा प्रयोग गर्न मात्र ल्यापटप सांसदलाई दिन लागिएको बताए ।

संसद् सचिवालयले दुवै सदनका ३ सय ३४ सांसदलाई ल्यापटप दिँदै छ। ल्यापटप खरिदका लागि सचिवालयले टेन्डर आहवान गरिसकेको छ। यसका लागि सरकारले विकास बजेट रकमान्तर गरी संसद् सचिवालयलाई डेढ महिनाअघि करिब ४ करोड रुपैयाँ निकासा दिएको छ।

संसद् दिवसका अवसरमा सचिवालय र संसद् भवन नयाँ बानेश्वरमा सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा सभामुख महराले सांसदका ल्यापटप संसदकै मातहतमा रहने बताए। ‘कापी र कागजमा लेख्नुभन्दा ल्यापटप प्रयोग गरी छिटो र छरितो ढंगबाट सांसदहरूले संसदीय काम गरून् भनेर ल्यापटप दिन लागिएको हो,’ उनले भने, ‘संसद् र संसदीय समितिलाई पेपरलेस बनाउने लक्ष्य छ।’

सभामुख महराले सांसदलाई ल्यापटप बाँड्न लागियो भनेर गलत प्रचार भइरहेको समेत बताए। ‘सांसदले संसद्मा रहँदा आफ्ना काम गर्छन्। काम भ्याएपछि मन्त्रिपरिषद्मा जस्तै सबै ल्यापटप संसद्मै छाडेर घर जान्छन्,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot