Logo

मृत्युको कारण सरकार भन्दै एक अर्ब आठ करोड क्षतिपूर्ति दिने निर्णय !



काठमाडौं, १७ असार । नेपाल सरकारले एक व्यक्तिको मृत्युको क्षतिपूर्ति एक अर्ब आठ करोड रुपैयाँ दिने निर्णय गरेको पत्र तयार भयो । पत्रमा गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीको हस्ताक्षर छ ।

लक्ष्मी अधिकारीका बाबुको मृत्यु नेपाल सरकारको कारणले भएकोले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा एक अर्ब आठ करोड ७६ लाख दिने निर्णयसहितको व्यहोरा पत्रमा उल्लेख छ । तर, कागज र हस्ताक्षर सबै नक्कली हुन् ।
यसबारे गृह प्रवक्ता समेत रहेका सहसचिव रामकृष्ण सुवेदीलाई सोध्दा प्रहरीलाई सोध्न भने । उनले सबै कुरा आइसकेको भन्दै घटनाको पुष्टि गरे ।

प्रहरीले क्षतिपूर्तिको निर्णयको सरकारी छाप र दस्तखत किर्ते गर्ने पतिपत्नीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ३८ वर्षीय राजनकुमार थापा र ३३ वर्षीया लक्ष्मी अधिकारी छन् । क्षतिपूर्तिको रकम लिन भन्दै हिंडेका उनीहरुलाई सिंहदरबार दक्षिण गेट नजिकबाट खानतलासी गर्दा पक्राउ गरिएको हो ।

प्रहरकिा अनुसार उनीहरुको साथबाट गृहमन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारण भएकोले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा एक अर्ब आठ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार दुई सय १० रुपैयाँ समेत बरामद भएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ । Photo: GON



प्रतिक्रिया दिनुहोस्