Logo

ओली–प्रचण्ड युद्धविरामः सहमतिबारे हल्ला नगरी कार्यान्वयन गर्ने



रिपोर्टर्स नेपाल, १७ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विगतमा गरेको सहमतिबारे बाहिर नबोल्ने र समय आएपछि कार्यान्वयनमा जाने सहमति बनेको छ । तीन दिनसम्म दुई नेताले बैठक बसी मन माझेर कुरा गरी सहमति निर्माण गरेका हुन् । केही समययता दुई नेता र निकटस्थले विगतको सहमतिबारे विवाद गर्दै आएका थिए ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै प्रचण्डनिकट एक नेताले अब विगत सहमतिबारे बाहिर हल्ला नगर्ने सहमति भएको बताए । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको विषय प्रचण्डले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा खुलासा गरेका थिए ।
भेटमा ओलीले प्रचण्डलाई सहमतिबारे बाहिर हल्ला गर्दै किन हिंडेको भनेका थिए । सहमति अनुसार नै पार्टी र सरकार चल्दै जाने भन्दै सहमतिको विषयले अन्यौल पेदा भएकोले कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रचण्डले पनि एकताको विषय टुंगो लगाउनमा जोड दिएका थिए । उनले सरकारमा मन्त्रीहरुको मूल्यांकन गरी आवश्यक परे हेरफेरमा समेत जोड दिएको स्रोतले बतायो । सरकार संचालन र पार्टी एकताका कार्य टुंगाउनुपर्नेमा अलमल भएकोमा गम्भीर बन्नुपर्ने भनेका थिए ।

दुवै नेताले मन माझेर तीन दिन कुरा गरेपछि पार्टी एकताका सम्पूर्ण कार्य असार महिनाभित्र सम्पन्न गर्ने सहमति गरेका छन् । सरकारमा रहेका मन्त्रीहरुको कार्य सम्पादन मूल्यांकन गरी आवश्यक पर्दा हेरफेर समेत गर्ने सहमति समेत बनेको स्रोतले बतायो । तर, असार महिनाभित्र मन्त्रीमण्डल हेरफेर नभइहाल्ने बुझिएको छ ।

दुवै नेताबीच दशैंपछि पार्टीले देशव्यापी कार्यक्रम गर्ने सहमति भएको छ । जनतासामु गएर कमीकमजोरी पत्ता लगाएर अगाडि बढ्ने र कार्यकर्ता र जनताको गुनासो सुन्ने गरी कार्यक्रम तय गर्ने सहमति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्