Logo

फागुन दोस्रो हप्ता काठमाडौंमा चेम्बर एक्स्पो २०२० हुने



काठमाडौं, १९ असार । आउँदो फागुन दोस्रो साता राजधानीमा ‘चेम्बर एक्स्पो २०२०’ आयोजना हुने भएको छ । आर्थिक क्रियाकलापमा नवीन प्रविधि तथा व्यापार व्यवस्थापनका नयाँ आयामहरुबारे जानकारी दिने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सले गर्दै आएको एक्स्पोको अर्को संस्करण फागुन १३ गतेदेखि हुन लागेको हो ।

चेम्बरले बिहीबार पत्रकार सम्मेलन गरी विदेशी लगानी पनि आकर्षण गर्नका लागि आउँदो फागुन १३ देखि १७ गतेसम्म चेम्बर एक्स्पो गर्न लागेको जानकारी गराएको हो ।  एक्स्पोमा निकासीयोग्य वस्तुहरु पनि राखिने एवं गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि गरिने जनाइएको छ ।

मेलाले अन्तर्राष्ट्रियस्तरमा भइरहेको प्रविधिहरुकाबारेमा जानकारी दिने तथा मेसिन र मेसिनरी वस्तुहरुको प्रयोगमा जोड दिने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

मेलामा २५० भन्दा बढी प्रदर्शनकक्षहरु राखिनेछन् । जसमा ९० ओटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगीहरुको सहभागिता रहने जनाइएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्