काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले आफू पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिने स्पष्ट पारेका छन् । सरकारले विकास निर्माणका कामलाई द्रुत गतिमा अगाडि बढाएको उनले अहिले सरकारले काम गरेन भनेर विरोध गर्नुको कुनै औचित्य नभएको जिकिर गरेका छन् ।
शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खनालले सरकारले भौतिक पूर्वाधारको विकासदेखि अन्य ठूला ठूला परियोजना अघि बढाएको सुनाए । आगामी पाँच वर्षभित्रै विद्युतको कुरा गर्दापनि केही हजार मेगावाट विद्युत बेच्ने अवस्थामा नेपाल पुग्ने उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले तपाईलाई हटाउन लाग्दै हुनुहुन्छ भनेर यस्तो प्रशंसा गर्नुभएको हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा मन्त्री खनालले भने,”कसले भन्यो ? मलाई थाहा छैन । बिल्कुलै यो कुरा मैले कहीँ कतैपनि सुनेको छैन । प्रधानमन्त्रीज्यूले अहिले मन्त्रिमण्डल पूनगर्ठन हुँदैन भन्नुभएको छ। अर्को कुरा सधैं मन्त्रीमा बस्नको लागि कोहीपनि आउँदैन् । आउने र जाने वा हट्ने र जाने भनेको एउटा प्रक्रिया हो । जति राम्रो काम गरेपनि मन्त्रीमा सधैं बस्ने भन्ने कुरा हुँदैन् ।”