काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई बलियो शक्ति बनाउनको लागि पनि अब सशक्त संगठन विस्तारमा लाग्नुपर्ने बताएका छन् । नेपाली रेडियोबाट नियमित प्रशारण हुने कार्यक्रम नेपाली बहसको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महतले यस्तो बताएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई असफल सभापति भन्ने नेताहरुले आफूतर्फ फर्केर हेर्नुपर्ने उनको सुझाव छ ।
https://youtu.be/-5RAMFLBqmk
सभापति देउवाले पार्टीको नेतृत्व गरेपछि कांग्रेस कमजोर भयो भनेर सिटौलाले भन्नुको कुनै तुक नरहेको महतको दाबी छ । उनले भने,”०६४ ताका उहाँ नै पार्टीको सर्वेसर्वा हुनुहुन्थ्यो, त्यतिवेला पार्टीको अवस्था के भएको थियो ? अहिले त हाम्रो ३६ प्रतिशत भोट आएको छ । त्यतिवेला हामीले जम्मा २० प्रतिशतमात्रै ल्याएका थियौं ।”
कांग्रेसभित्र केही नेताहरुलाई पार्टीभन्दापनि व्यक्तिगत रुपमा आफू बलियो बन्ने ध्यान मात्रै रहेको पनि उनले टिप्पणी गरे । उनले कमजोर पार्टीको प्रभावशाली व्यक्ति वा नेता भएर कुनै अर्थ नहुनेतर्फपनि नेता सिटौलाको ध्यानाकार्षण गराए ।