Logo

प्रधानमन्त्री ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिनुपर्छ : घिमिरे



काठमाडौं, २१ असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे । उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे । उनले भने,‘यो सरकार पाँच वर्षको लागि हो । त्यसैले यसले पूरा अवधि सरकार चलाउन पाउनुपर्छ । हामी स्थिरताको पक्षमा छौं । हामी प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता चाहन्छौं ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले कांग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै घिमिरेले आफ्ना पार्टी सभापति शेरबहादुर देउवाले पनि सरकार ढाल्छौं नै भनेर अभिव्यक्ति नदिएको जिकिर गरे । उनले भने,‘उहाँलेपनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नुभएको हो । तर, सरकार नै ढाल्छु भनेर अभिव्यक्ति दिएजस्तो मलाई लाग्दैन् ।’

उनले भोलिबाट सुरु हुने कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा गम्भिर र महत्वपूर्ण विषयमा छलफल हुने विश्वास दिलाए । उनले भने,‘सम्भवतः भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठक केही दिन लामो चल्छ, र यो टर्निङ प्वाईन्ट हुनेछ । कांग्रेस अहिले नयाँ बाटोमा अघि बढ्दैछ । अब पार्टीभित्रका नयाँ संरचनाले पूर्णता पाउँदैछन् ।’

त्यस्तै उनले अब महाधिवेशनको प्रक्रिया पनि सुरु हुने जनाए । उनले भने,‘महाधिवेशनको लागि सदस्यता वितरणको काम जो छ, अब अघि बढ्छ ।’ यसपटकको बैठकमा धर्मको विषयमा प्रवेश नै नगर्ने जिकिर गरे । उनले भने,‘हामी धर्मसापेक्ष नीतिअनुसार अघि बढ्छौं । यसपालिको बैठकमा धर्मको विषयले प्रवेश पाउँदैन् । तपाईहरु ढुक्क हुनुहोस् ।’

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडलमात्रै नभएर यसपटकको बैठकपछि सबै नेतृत्वमा बसेका नेताहरुबीच एकता हुने पनि उनले विश्वास दिलाए । उनले भने,‘पार्टीका कार्यक्रम, नीति र एजेण्डा सबैमा एकमत हुन्छ ।’ सभापति देउवापनि महाधिवेशन समयमै गर्नुपर्नेबारे प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्