Logo

ओली सरकार ढाल्न अन्तिम लडाई लड्छौं : देउवा



काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सुध्रिएन भने आफूहरुले अन्तिम लडाई लडेर हटाउने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा बल बहादुर राईको नवौं स्मृति दिवसको अवसरमा बलबहादुर राई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘देशका प्रजातान्त्रिक मूल्य र मान्यताको पक्षमा हाम्रो पार्टी लडेको हो । तर, अहिले यो सरकारबाट त्यसैमाथि हस्तक्षेप भएको छ । यो कुरा हामीलाई सह्य छैन् ।’

आफ्नो पार्टीले २००७ सालदेखि नै मुलुकमा प्रजातन्त्रको लागि लडेको हो । हामीले राणा फाल्यौं । पञ्चायत फाल्यौं । राजा फाल्यौं । अब पनि यो सरकार सुध्रिएन भने हामी अन्तिम लडाई लड्छौं ।’ उनले दोहोर्याएर भने,‘म फेरि पनि भन्छु यो सरकार सुधिएन भने र यदि प्रजातन्त्रमाथि भएको आक्रमण रोकिएन भने हामी सडकबाटै सरकार फालिदिन्छौं ।’

उनले पटक पटक प्रधानमन्त्री ओलीलाई सुध्रिनको लागि चेतावनी दिए । ‘नसुध्रिए हामीसँग आन्दोलन गरेर हटाउनुभन्दा अर्को विकल्प छैन’–देउवाले भने,‘प्रजातान्त्रिक मूल्य र मान्यतामाथि भएको आक्रमणको विरुद्धमा हामी अन्तिम लडाई लड्छौं ।’

सरकारले लगातार देश र जनताको अहित हुनेगरि विभिन्न विद्येयकहरु ल्याएकोमा पनि उनले कडा आक्रोश पोखे । उनले थपे,‘गुठी विद्येयक फिर्ता हुनैपर्छ । अहिले स्थगित गरिएको भनिएको छ, यो कुनैपनि हालतमा अघि बढाउनुहुँदैन् ।’

देउवाले ओली सरकारले आफ्नो पार्टीका ठूला नेता सुवर्णशमशेरको जग्गा (ललिता निवास) जग्गापनि व्यक्तिको नाममा किनबेच गरेको आरोप लगाए । उनले थपे,‘यसमा अहिले अख्तियारले हेरिरहेको छ ।’ त्यस्तै, वाईडबडीमा पनि व्यापक भ्रष्टाचार भएको देउवाले सुनाए ।

प्रेस स्वतन्त्रतामाथि पनि वर्तमान सरकारले हस्तक्षेप गरिरहेकोमा देउवाले असन्तुष्टि पोखे । ‘मिडिया काउन्सिलसम्बन्धी विद्येयक नियन्त्रण गर्न खोजिएको छ । यो विद्येयक यही रुपमा आयो भने तपाई हामीले बोल्न पाउँदैनौं । हिँड्न पाउँदैनौं । जसको लागि हामी हिजो लडेका हौं ।’–देउवाले सरकारविरुद्ध आक्रोश पोखे ।

उनले संविधानले नै अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको सुनाउँदै पहिलो कुरा बोल्न पाउनुपर्ने धारणा राखे । उनले भने,‘लेख्न पाउनुपर्छ । निर्वाध रुपमा, शान्तिपूर्ण तवरले बोल्न पाउनुपर्छ । यो हाम्रो अधिकार हो । लेखेकै भरमा जेल हाल्ने कुरा राम्रो होईन । धेरैभन्दा धेरै दण्ड दिने कुरा गरिएको छ । प्रेसलाई धम्काउने काम भएको छ । यो हामीलाई स्विकार्य छैन ।’

मानवअधिकारमाथि संसारको कुनैपनि देशमा हस्तक्षेप नभएको तर नेपालमा भने ओली सरकारले हस्तक्षेप गरेको देउवाको गुनासो छ । उनले भने,‘मानवअधिकार स्वतन्त्र आयोग हुनुपर्छ ।’ सुरक्षा परिषदको बैठकबाट सेनापतिलाई हटाईएको र प्रधानमन्त्रीले चाहँदा सेना परिचालन गर्न पाउनेगरि वर्तमान सरकारले प्रवन्ध मिलाएकोमा पनि देउवाले कडा आपत्ति जनाए । उनले भने,‘सेनालाइृ मनपरी रुपमा चलाउन पाईदैन ।’

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्