Logo

आइजीपी सर्वेन्द्र खनाल आफ्नै गाउँ फर्की आए…



रिपोर्टस नेपाल, तनहुँ । आइजीपी सर्वेन्द्र खनाल आफ्नै गाउँ फर्की आए । असारे झरीका बाबजुद चन्द्रावती गाउँमा उनी पुग्दा भेट्न आउनेको भीड थियो । बुढापाका देखि केटाकेटी सम्म खनाललाई भेट्न कुरेर बसेका थिए ।

आफ्नै गाउँवासी नेपाल प्रहरीको महानिरीक्षक जस्तो गरिमामयी पदमा पुगेको त्यसमाथि पनि गाउँलाई सम्झेर आएका थिए खनाल । खनालप्रति उनीहरुले निकै सद्भाव र सम्मान देखाए । हात जोड्दै खनालले गाउँवासीलाई नमस्कार गरे । बुढापाकाले आशिर्वाद दिए ।
उच्च पदमा पुगेर पनि उनमा कुनै घमण्ड थिएन । त्यही गाउँकै बासिन्दा बनेर बाटोमा हिंडे, भलाकुसारी गरे । सञ्चोबिसञ्चो सोधे । गाउँवासीले खनाललाई नागरिक अभिनन्दन गरे ।


आइजीपी सर्वेन्द्र खनालको पूख्र्यौली थलो हो   । उनका पिताले त्यही गाउँबाट भविष्य निर्माणको जग तयार गरेर काठमाडौं छिरेका थिए । बाजेबराजु देखिको थलोमा खनालको सम्झना र मायामा कहिले कमी आएन । त्यसैले तनहुँवासी उनीप्रति गर्व गर्छन् ।

गाउँलाई निकै सम्झने उनले आज प्रहरी चौकी चन्द्रावतीको भवन शिलान्यास गरे । एक करोड २३ लाख ३७ हजार लागतमा भवन आगामी वर्ष निर्माण पूरा हुनेछ । प्रमुख अतिथिका रुपमा पुगेका उनले गाउँवासीसँग भलाकुसारी समेत गरे । सञ्चोविसञ्चो सोधे । गाउँको विकास, गाउँवासीको आयआर्जनको अवस्थाबारे पनि जानकारी लिए ।

गाउँमा टेक्दा नै आइजीपी खनाल भावुक भएका थिए । उनलाई नागरिक अभिनन्दन पनि गरे । त्यसका लागि नागरिक अभिनन्दन मूल समारोह समिति नै गठन गरिएको थियो । गाउँ सम्झिएर आएको भन्दै बुढापाकाले खनालसँग खुशी व्यक्त गरे । खनालले पवित्र भावनाले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा असारे झरी नभनी स्थानीय बासिन्दा उल्लेख्य सहभागी भएका थिए । त्यो देखेर खनाल झन् भावुक भए । तनहुँ गृहजिल्ला भएका खनाल काठमाडौंमा हुर्किएपनि पुख्र्यौली थलोलाई निकै माया गर्छन् । उनले गाउँको विकासमा चासो समेत दिएर योगदान गर्दै आएका छन् । तनहुँ बाटो पर्यो कि गाउँ सम्झेर पुग्छन् । पुख्र्यौली थलो नियाल्छन् । जहाँ पुगेपनि आफ्नो थालथलो नबिर्सने बानी छ उनमा ।


आइजीपी खनालसँगै एसएसपी चन्द्रकुवेर खापुङ थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसएसपी बिनोद सिलवाल उनलाई स्वागत गर्न कुरिरहेका थिए । व्यस्तता नभनी गाउँ सम्झेर आइजीपी खनाल आइपुगेपछि सिलवाल निकै उत्साही भए । खटिन सक्ने र एक्सनमा जाने आइजीपी खनालको स्वभावले धमाधम प्रहरी कार्यालयहरु धेरै भन्दा धेरै निर्माण हुन थालेका छन् ।

भरतपुरमा तालिम केन्द्रको दीक्षान्त समारोहमा सहभागी भएर खनाल सिधै भानु नगरपालिकाको चन्द्रावती गाउँमा पुगेका थिए । भरतपुरमा हुँदा उनले महत्वपूर्ण भाषण गरे । प्रहरी सहायक निरीक्षकको दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रहरी सेवामा कार्यरत रही सेवानिवृत्त हुँदा गर्वले छाति चौडा भएको महसुस हुनेगरी नागरिक र समाजको हितलाई नै सर्वोपरी हुनेगरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

वर्तमान प्रहरी नियमावली अनुसार आइजीपी खनाल यसै वर्षको फागुनमा सेवानिवृत्त हुनेछन् । उनले छाति चौंडा हुने काम गर्ने बताउने गरेका थिए । एसपी र एसएसपी हुँदा तराईका जिल्लामा खटिंदा अपराध नियन्त्रणमा मात्र नभई सामाजिक परिवर्तन र जनचेतनामूलक कार्यक्रममा नेतृत्वदायी भूमिका निभाए । तराईमा बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन गरे । जसका कारण उनलाई तराई जिल्लावासीले श्रद्धा गर्दछन् ।

मैथली र भोजपुरी स्पष्ट बोल्ने खनालले वीरगञ्जमा एसएसपीका रुपमा बस्दा तस्करी, गुण्डागर्दी र सीमापार अपराध नियन्त्रणमा बाजी मारे । जसका कारण सीमापारी रक्सौलका नागरिकले पनि अभिनन्दन गरे । अपराध महाशाखामा हुँदा गुण्डागर्दी नियन्त्रण देखि दशकौं देखि अपराधी पत्ता नलागेका घटनाबारे गहिरो अनुसन्धानबाट अपराधीलाई कठघरामा उभ्याए । उपत्यका ट्राफिक प्रहरीको कमाण्ड सम्हालेर फिल्डमै खटिएर ट्राफिक व्यवस्थापन गरे । आइजीपी भइकन पनि उनी फिल्डमा खटिन छाडेका छैनन् ।

डेढ वर्ष कार्यकालमा खनालले कम बोल्ने धेरै काम गर्ने आइजीपीको परिचय बनाए । उनका पालामा दशकौं देखि पत्ता नलागेका आपराधिक घटनाहरु पत्ता लागे । केही घटना गिजोलिएर अनुसन्धानमा जटिलता थपिएपनि खनाल कार्यकाल अवधिभर घटनाबारे सत्यतथ्य बाहिर ल्याउने उद्देश्यमा केन्द्रित देखिन्छन् ।

नेपाल प्रहरीको इतिहासमा सबैभन्दा बढी काठमाडौं उपत्यकाबाहिर पुगेर सिपाही देखि अधिकृतसम्मको समस्या प्रत्यक्ष भेटेर बुझ्ने आइजीपी बनेका छन् उनी । हवाई मार्गमा भन्दा स्थल मार्गबाट यात्रा गरेर बाटोमा पर्ने प्रहरी चौकीमा समेत पसेर समस्याहरुबारे जानकारी लिन्छन् । उनी आज चितवनबाट तनहुँ पुगेर म्याग्दे गाउँपालिका थर्पुमा पनि प्रहरी चौकीको भवन शिलान्यास गरे । तनहु हुँदै पोखरा पुग्दा बाटोमा रहेका प्रहरी चौकीहरुमा पस्दै गए ।



प्रतिक्रिया दिनुहोस्